काठमाडौ, कार्तिक २६ ,
अमेरिकी गायिका/नायिका माइली साइरसको हर्कत रोकिने छाँट छैन । सुन्दर र भलाद्मी टिन लेडीको छविलाई अति छिटो कामुक र बिन्दास स्वरूपमा बदलेकी माइलीले गत राति एक अवार्ड कार्यक्रममा सनसनी मच्चाइन् ।
आमस्टरडममा आयोजित द युरोप म्युजिक अवार्ड्समा 'रिकिङ बल' को विवादास्पद भिडियोले उत्कृष्ट अवार्ड हात पारेपछि स्टेजमा पुगेकी २० वर्षीया गायिकाले हाते झोलाबाट चुरोट झिकेर सल्काइन् ।
अवार्ड लिएपछि आफ्नो सानो हाते ब्यागलाई इंगित गर्दै माइलीले पहिले भनिन्, 'मैले यो अवार्डलाई पर्समा अटाएर राख्नै सकिनँ ।
बरु पर्समा त यस्तो पो पाएँ ।' त्यसपछि उनले चुरोेट निकालिन् र सल्काइन् । त्यसभन्दा अघि अवार्ड समारोहमा उनले 'वी कान्ट स्टप' गीत परर्फम गरेकी थिइन् ।
अवार्डको रात सबैभन्दा रंगीन चाहिँ अमेरिकी र्यापर इमिनेमका लागि भयो । उनले ग्लोबल आइकनका साथमा उत्कृष्ट हिपहपका लागि पनि अवार्ड थापे । गीतका लागि 'लक्ड आउट अफ हेभेन' का लागि ब्रुनो मार्स, महिला गायनका लागि केटी पेरी र पुरुष गायनमा जस्टिन बिबरले अवार्ड जिते । 'वन डिरेक्सन' ले उत्कृष्ट पप गायनका लागि एमटीभी एमा अवार्ड पायो । एजेन्सी :