इलाम कार्तिक २६,
चुनाव विरोधी गतिविधिमा संलग्न भएको आशंका गएराति प्रहरीले इलामको चमैंता गाविस–३ निवासी देवीमाया घिमिरेलाई पाँच बर्षे छोरीसहित पक्राउ गरेको छ।
चमैंताकै कमलदेवी प्राविकी शिक्षिका रहेकी घिमिरेलाई १ बजे राती घरैमा गएर प्रहरीले छोरी प्रेक्षासहित पक्रेर सदरमुकाम ल्याएको छ। चुनावविरोधी क्रियाकलापमा संलग्न भएको आशंकामा घिमिरेमाथि अनुसन्धान गरिने प्रहरीले जनाएको छ।
पशुपालन र खेतीपातीमा समय दिँदै घरधन्दामा व्यस्त हुने घिमिरे निर्दोष भन्दै आफन्तजनले उनको तत्काल रिहाई गर्नुपर्ने माग गरेका छन्।
घिमिरेका श्रीमान पुष्प भट्टराई भने नेकपा माओवादीनिकट जिल्ला कार्यकर्ता हुन्।
घिमिरेसहित चुनाव विरोधी क्रियाकलाप गरेको आरोपमा पक्राउ पर्नेको संख्या इलाममा १५ पुगेको छ। छुट्टाछुट्टै स्थान र मितिमा पक्राउ पर्ने उनीहरुमा नौ जना नेकपा माओवादी र छ जना मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदनिकट कार्यकर्ता छन्। पक्राउ परेका सबैलाई प्रहरी हिरासतमा राखिएको छ।