डिजाइन देशको संस्कृति र संस्कार झल्काउने हुनु पर्छ I

काठमान्डू मङ्सिर ८,

डिजाइनर शिक्षा श्रेष्ठले दिल्ली एन.आई.एफ.टीबाट फेसन डिजाइनमा ग्याजुएसन गरेपछि लाजिम्पाटमा नौ वर्षदेखि बुटिक सञ्चालनमा गरिरहेकी छिन्। उनले नेप्लिज फेसन, मिस नेवा, मिस लिटल, मिस क्युट आदि कार्यक्रममा क्रोरियोग्राफी समेत गरिसकेकी छिन्। 

फेसन डिजाइनर नै बन्ने चाहना कसरी पलायो ? 

जतिबेला म यो क्षेत्रमा लागेकी थिएँ, त्यतिबेला यो पेसालाई त्यति राम्रो मानिँदैनथ्यो, तर भविष्यमा नाम र दाम दुवै कमाउन सकिन्छ र आफूलाई अरूभन्दा फरक रूपमा प्रस्तुत गर्न सकिन्छ भन्ने विश्वासले गर्दा नै म यो क्ष्ाेत्रमा लागेकी हुँ। 

नाम र दामको मोहमा लाग्ने डिजाइनहरूले गर्दा नै यो व्यवसायमा विकृत भित्रिरहेको आरोप छ नि ? 

त्यस्तो होइन, आफ्नो क्षमता नहुनेहरूले गर्ने चतुर्‍याइँले गर्दा विकृति देखा परेको हो। यहाँ अरूको जस्ताको तस्तै नक्कल गर्ने अनि आफ्नो डिजाइन र क्षमता भनेर चर्चामा आउनेहरूको जमात पनि छ, जसले गर्दा हामी जस्तो बाहिर पढेर अनुभव बटुलेर पेसाप्रति इमान्दार हुनेहरूसमेत शंकाको घेरामा परेका छौं।

बुटिकहरूका लागि निश्चित मापदण्ड निर्धारण गर्नुपर्ने हो कि ? 

मापदण्ड भन्दा पनि इमान्दार र सिर्जनशील डिजाइनरहरूको पहिचान गर्नुपर्छ। अर्को कुरा बुटिकलाई निश्चित मापदण्डका आधारमा मात्र अनुमति प्रदान गर्नुपर्छ। 

बुटिकमा त सामान्य ग्राहकलाई महत्त्व नदिइएका गुनासाहरू पनि छन् नि ? 

हुन सक्छ। कतिपय बुटिकले बढी पैसा तिर्ने ग्राहकको सेवामा मात्र ध्यान दिइरहेका हुन्छन्। यद्यपि सबैलाई एउटै नजरले हेर्न मिल्दैन। 

डिजाइनरहरूले नेपालीपन बिर्सन थालेका हुन् ? 

होइन, कुनै पनि देशको डिजाइनरले त्यो देशको संस्कृति र संस्कार झल्काउने पहिरन नबनाउने हो भने उसले आफूलाई डिजाइनर भन्नु बेकार छ। स्थानीय पहिरन जोगाउनमा सबैभन्दा ठूलो हात डिजाइनरहरूकै हुन्छ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com