कविता, "फरक" : By, कल्पना राई"खुशी"



कविता : 

आँखा,आँखा भित्रका नानी उही
छाती,छाती भित्रको मुटु उही
टेक्ने धर्ती,ओढ्ने आकाश उही,
रविले परेली खोल्दा प्रभात उही
जूनले चाँदनी छर्दा रात उही
दिन,हप्ता,महिना,बर्ष,दशकौं बितिरहेछ,
अनावारत यसरी नै,.………
यसरी नै,…………

तर,
म हिजो सानी थिएँ,
सबैको प्यारी नानी थिएँ,
स्नेह र प्रेमको गुडिया थिएँ,
जो जस्ले पनि स्नेह पुर्वक छातीमा टाँसेर,
पुतली झैँ खेलाउदै,
डिम्पल परेका मेरा गालामा,
चुप्प मोई खाई दिन्थे,
मायाले,स्नेह र ममताले………
अनि,
अनि म संसारकै भाग्यमानी परि ठान्दै
निल गगनको सतह भेट्ने गरी उडी दिन्थें,
फर फर जामाका पंख फिजाई,
मनै मनमा,
खुशी र उमंगले ,………
र,
उडी दिन्थें,उ…………माथी ……माथी ,………

निर्दोष फूलहरु टिपेर
निर्दोष पुतलीहरु समातेर
कागजको डुंगामा सपना हालेर
बर्खाको झरीमा बगाउदाको मज्जा,
आहा!
तर त्यो मेरो माटोको खेलौना फुट्दा
बिचल्लित भएर रोएको,
बलिन्द्रधारा आँशु खसाई डाको छोडेको,
प्राण पखेरु उड्ने गरि पछारिएको क्षण दुखद थियो,
त्यहि पिडा जीवनको अन्तिम चोट सम्झन्थें,
बिडम्बना अझै बाँकि रहेछ,
दुख्नु,……………

यौवनको काँचुली संगै चाहना पलाउदा,
बन्द नयनले दुर दुरका स्वप्न बुँन्दै जाँदा
कल्पनाको संसारमा प्रेमील बस्ती बसाउन नपाउदै
चर्किएको ऐना जस्तो भाग्य फुट्दा
हात बाट पिरतीको हात छुट्दा
त्यहि आँशु बग्यो
त्यहि पिडा भयो
जुन बर्षौ पहिला खेलौना फुट्दा भएको थियो,
फरक यति थियो,
बालाखामा खेलौना फुट्यो
अहिले,
हो!अहिले आफ्नै मन फुटेको छ,
अफसोच,
प्रकृति सारा उस्तै छ!!!

कल्पना राई"खुशी"
दोलखा नेपाल
हाल दक्षिण कोरिया

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com