माडी आश्विन २०,
शरोज खनाल : माडीको बसन्तपुरमा जारी दिवाकर स्मृति दशौं जिल्ला स्तरीय फुटबल
प्रतियोगितामा आज ३ खेल संचालन गरिएको छ । जसअन्तर्गत आज भएको पहिलो
खेलमा समाज सुधार युवा क्लब अयोध्यापुरी विजयी भएको छ । निर्धारित समय
सम्म १ –१ को बराबरी भएपछि ट्राईब्रकर मार्फत ४–२ को गोल अन्तरले हराउंदै
अयोध्यापुरी विजयी भएको हो ।
त्यस्तै आज हुने भनिएको दोश्रो खेलमा
निर्धारित समयसम्ममा एभरेष्ट क्लब चितवन उपस्थित नभएपछि वाक ओभर पाउंदै
प्याराडाईज क्लब सौराहा पनि दोश्रो चरण प्रवेश गरेको छ । त्यसै गरि आजै
भएको तेश्रो तथा अन्तिम खेलमा नारायणी युवा क्लब नारायणगढलाई ३–१ गेल
अन्तरले पराजित गर्दै संहाती युवा क्लब मेघौलीले पनि दोश्रो चरण प्रवेश
गरेको छ । यसअघि हिजो भएको उद्घाटन खेलमा जगतपुर खेलकुद परिषद्लाई पराजित
गर्दै बसन्तपुर युनाईटेड दोश्रो चरण प्रवेश गरिसकेकोे छ ।
जिल्लाकै
सर्वाधिक धनराशीको यस फुटबल प्रतियोगितामा चितवन जिल्लाभित्रका १६ वटा
टिमहरुको सहभागिता रहेको छ । २५ गतेसम्म संचालन हुने प्रतियोगिता अवधिभर
करिब ७ लाख खर्च हुने अनुमान गरिएको छ । जसमा प्रथम पुरस्कार नगद १ लाख
सहित शिल्ड मेडल र प्रमाणपत्र ,दोश्रो पुरस्कार नगद ५० हजार सहित शिल्ड
मेडल र प्रमाणपत्र रहेको छ । साथै प्रत्येक खेलमा म्यान अफ द म्याच घोषणा
गरि प्रतियोगिता अवधिभरको सर्वाधिक गोलकर्ता, उत्कृष्ठ खेलाडी, उत्कृष्ठ
गोलरक्षक लगायतलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ ।