"मेरो माईती र तिहार"
सयपत्री,गोदावरी र मखमली मुस्काउदै
आँगनी,बारी,पाखाभरि ढकमक्क फुल्दा
हर्ष बिभोर हुन्छ मन
बर्षौ पछी माईती पुज्ने रहर पुरा हुन्छ भन्दै,
इन्द्रेणीको सातै रंग सोहोरी
दुना-दुनामा निखार्दै छु
मेरो माईतीको स्वाभिमानी शिर सजाउन
ढुंगा जस्तो ओखर बम सम्झी तयार गर्दैछु
तर्साएर दसा, ग्रह र कालको बाटो छेक्न
तेलका रेसा तानेर,
माईतीलाई लुकाउन,………
व्यस्त छु भित्र भित्रै सम्झनामा,………
बिडम्बना,
धेरै समय फुत्कि सकेछ,
हृदयका बिशाल चाहना
मिठो कल्पना
व्यर्थ भएका छन,
क्षणिक भएका छन
सबै सबै …………
कारण,
सायद यती बेला मेरो माईती
नेपाल आमाको रक्तिम छातीमा मलम पट्टि गर्दै,
देशको सिमाना जोगाउन खम्बा बनि उभिएका होलान
शिक्षा बिनाको अध्यारो बस्तीमा जुनकिरी बन्दै,
तिर्खाएका आँतमा निर्मल जल बनि बगेका होलान,
हत्या,हिँसा,आतंक रहित देशको निर्माण गर्दै
शान्ति र अमन चयनको स्थापना गर्दै पो छन कि?
मातृ भुमीको अर्थतन्त्र जोगाउन
आफ्नै रगत पसिना बेच्दै छन कि प्रवासमा
आफ्नै मुलुकले काँचुली फेर्ने जमर्को गर्दा
चुनाबको पोस्टर हात हातमा बोकी
सत्यको जित गराउन दौड धुप गर्दै पो छन कि
सारा जनतालाई राहत दिन
स्वतन्त्र र समृद्ध नेपालको पुन:स्थापना गर्दै छन कि. ..
म बिश्वस्त छु,
मेरो माईतीको जीत हुनेछ,
जुन जीतले गर्दा नेपाल आमा मुस्काउने छिन,
संसार सामु सगरमाथाको शिर उठाई हास्ने छिन,
हो,
त्यही दिन हामी तिहार मनाउला,
सप्तरंगी टीको लाइ
बिजयीको माला पहिराई
एकै साथ भनौला ,………
भन भन भाई हो देउसीरे ,
मेरो देशमा समानताको समानान्तर रेखा कोरिएको छ,देउसुरे,………
कल्पना राई"खुशी"
दोलखा नेपाल
हाल दक्षिण कोरिया