नयाँदिल्ली भाद्र २६ ,
भारतीय राजधानी नयाँदिल्लीमा गत डिसेम्बरमा एक छात्रालाई सामूहिक बलात्कार गरी हत्या गर्ने चारजनालाई यहाँस्थित 'फास्ट ट्रयाक कोर्ट' ले दोषी ठहर गरेको छ । अर्का एक अभियुक्तले अनुसन्धानका क्रममा थुनिएको स्थानमै झुन्डिएर आत्महत्या गरेका थिए ।
न्यायाधीश योगेश खन्नाको इजलासले उनीहरूलाई दोषी ठहर गरेको हो ।
उनीहरूमाथि कस्तो दण्ड दिने फैसला भने सम्भवतः बुधबार हुनेछ । उनीहरूलाई सामूहिक बलात्कार, अप्राकृतिक अपराध, प्रमाण नष्ट र निस्सहाय पीडितको हत्या अभियोगमा दोषी ठहर गरिएको हो । उनीहरूमाथि लगाइएको डकैतीको अभियोग भने अदालतले खारेज गर्यो । यस अपराधमा संलग्न मुकेश सिंह, अक्षय ठाकुर, पवन गुप्ता तथा विनय शर्माले भने आफूहरू दोषी नभएको दाबी गरेका थिए ।
अदालतमा निर्णय सुनाउँदा पीडितका परिवार रोएका थिए ।
अदालतको फैसललाले आफूहरू सन्तुष्ट भएको बताउँदै मृतकका बाबुआमाले दोषीलाई फाँसीको सजाय सुनाइनुपर्ने बताए । त्यतिबेला पत्रकारहरूको निकै ठूलो भीड थियो ।
दोषीमध्ये एक नाबालिगलाई तीन वर्षका लागि सुधार गृहमा राख्ने निर्णय भइसकेको छ । अरू तीनजनाका वकिलले पुनरावेदन दिने बताएका छन्् । 'फास्ट ट्रयाक कोर्ट' मा यस घटनाबारे ७ महिनासम्म सुनुवाइ चलेको थियो । सयभन्दा बढी साक्षीलाई प्रमाणका लागि प्रस्तुत गरिएकोमा ८५ जनाले पीडितका पक्षबाट बयान दिएका थिए ।
बसमा यात्रा गरिरहेकी फिजियोथेरापी अध्ययनरत २३ वषर्ीया ती विद्यार्थीलाई सामूहिक बलात्कारपछि आक्रण गरिएको थियो । त्यसपछि सिंगापुरमा लगेर उपचार गर्ने क्रममा उनको दुई सातापछि निधन भएको थियो । घटनामा उनको एक केटा साथीमाथि पनि संाघातिक आक्रमण गरिएको थियो । पुरुष मित्रलाई कुटपिट गरिएपछि ती छात्रालाई आक्रमण गरिएको थियो । पछि अचेत अवस्थामा उनीहरूलाई विमानस्थलतर्फको मार्गमा फ््याँकिएको थियो । उक्त घटनाको विरोधमा भारतभर प्रदर्शन भएका थिए । यस्तो अपराध नियन्त्रण गर्न नयाँ कानुन नै बनाउनुपरेको थियो ।(एजेन्सी)