प्रत्येक दिन दुइ जना बलात्कारको शीकार I

 काठमाडौं आश्विन ७,

रुबी रौनियार : रसुवामा ११ वर्षीया बालिका बाबुबाट बलात्कृत भइन्। आमा दोस्रो बिहे गरेर हिँडेपछि उनी लगातार बलात्कृत हुँदै आएकी थिइन्। सुनसरीकी १७ वर्षीया किशोरी बलात्कारको जाहेरी दिन प्रहरी कार्यालय जाँदा प्रहरीबाटै बलात्कृत भइन्। यी दुई प्रतिनिधि घटना मात्र हुन्। नेपालमा उनीहरूजस्ता थुप्रै बालिका, किशोरी दिनहुँजसो बलात्कारको शिकार भइरहेका छन्। महिला पुनर्स्थापना केन्द्र (ओरेक नेपाल)को तथ्यांकलाई आधार मान्ने हो भने नेपालमा दैनिक झन्डै दुईजना बलात्कृत हुन्छन्। 

ओरेकले भर्खरै सार्वजनिक गरेको प्रतिवेदनअनुसार मासिक ५० वटा बलात्कार घटना हुने गरेको छ। २०७० वैशाखदेखि साउन मसान्तसम्म बलात्कारका १ सय ९० घटना भएको प्रतिवेदनमा छ। यस अवधिमा बलात्कार प्रयासका २८ घटना भए। कैयन् बलात्कारका घटना लोकलाज र डर–धम्कीका कारण बाहिर आउँदैनन्। रसुवाकी बालिका बलात्कृत हुन थालेको एक वर्षपछि मात्र सार्वजनिक भएको थियो। सुनसरीकी किशोरीलाई भने हातमा ५० रुपैयाँ थमाएर घटना सार्वजनिक नगर्न धम्की दिइएको थियो। महिला मानवअधिकार रक्षक राष्ट्रिय सञ्जालकी अध्यक्ष रेणु राजभण्डारीले नेपालमा बलात्कारका घटना बढ्दै गएको बताइन्। 'दर्ता भएका र पत्रिकामा आएका समाचारलाई आधार मानेर अनुसन्धान गर्दा बलात्कारका घटना बढ्दै गएको देखिन्छ,' उनले भनिन्, 'बलात्कृतमध्ये दलित, गरिब, एकल महिला, समलिंगी, अपांगता भएका र बालिका बढी छन्।' ओरेक नेपालको अध्ययनअनुसार आफन्त, पति, साथी, छिमेकीजस्ता चिनेजानेका व्यक्तिबाट बलात्कृत हुने धेरै छन्। 

सञ्जालकी अध्यक्ष राजभण्डारीले प्रचलित बलात्कारसम्बन्धी अनुसन्धान प्रक्रिया लामो र त्रुटिपूर्ण रहेको टिप्पणी गरिन्। स्वास्थ्य रिपोर्ट पेस गर्नुपर्ने र ३५ दिनभित्र घटना दर्ता गराउनुपर्ने नियमले पीडितमाथि अन्याय भइरहेको उनको भनाइ छ। 'समाज र घरभित्रैका प्राकृतिक तथा अप्राकृतिक बलात्कारका घटना बाहिर आउन लामो समय लाग्छ,' उनले भनिन्, 'थप अदालती कारबाही, न्याय, प्रहरी तथा प्रशासन क्षेत्रभित्रका केही व्यक्तिमा रहेको पितृसत्तात्मक सोच र व्यवहारले पनि बलात्कार निरुत्साहित गर्दैन।' मानवअधिकारकर्मी कृष्ण पहाडीले बलात्कारसँग सम्बन्धित कानुनी प्रावधान विभेदकारी र प्रभावहीन रहेको बताए। 'विभेदपूर्ण कानुनी प्रावधान रहेको स्थितिमा पीडितले न्याय पाउन चुनौतीपूर्ण छ,' उनले भने। शक्ति समूहकी अध्यक्ष सुनिता दनुवारले बलात्कारसम्बन्धी हाल कायम कानुनी प्रावधान संशोधन गर्नुपर्ने धारणा राखिन्। 

'बालिकाहरू पाइला–पाइलामा असुरक्षित छन्,' उनले भनिन्, 'घरबाटै बलात्कारविरुद्ध सचेतना थाल्नुपर्छ।' बलात्कारविरुद्ध अभियान बलात्कारविरुद्धमा जनचेतना फैलाउन २७ संघसंस्थाको सहकार्यमा आइतबार अभियान सुरु भएको छ। ७५ जिल्लाकै अधिकारकर्मी तथा पीडितको सहभागितामा रत्नपार्कस्थित शान्तिबाटिकामा र्‍याली प्रदर्शन र सांस्कृतिक कार्यक्रम गरेर अभियान सुरु गरिएको हो। पीडितको सामाजिक र कानुनी न्यायसम्बन्धी अधिकार सुनिश्चित गर्नसमेत माग गर्दै अभियान सुरु गरेको अधिकारकर्मीले जनाएका छन्। अभियान अवधिभर विभिन्न चोकमा बलात्कार तथा महिला हिंसाविरुद्ध सूचना सामग्री वितरण गर्ने, मन्त्रिपरिषद अध्यक्षलाई जिल्ला प्रशासन कार्यालयमार्फत ध्यानाकर्षण पत्र बुझाउने, जिल्लामा र्‍याली प्रदर्शन गर्ने कार्यक्रम छ। अभियान मंसिर ५ गते सकिनेछ। (nagarik)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com