जोधपुर आश्विन ३,
भारतको राजस्थान राज्यको जोधपुरस्थित उच्च न्यायालयले बुधबार जमानत याचिकामाथि थप सुनुवाइ नगरी विवादास्पद धर्मगुरु आशाराम बापुलाई कारागारमै राख्ने आदेश दिएको छ ।
उनी आउँदो ३० सेप्टेम्बरसम्म त्यहाँको केन्द्रीय कारागार गृहमा बन्दीजीवन बिताउने छन् । आशाराममाथि एक नाबालिगले यौन उत्पीडनको आरोप लगाएकी छन् ।
उनको जमानत अपिलमाथि १ अक्टोबरमा सुनुवाइ हुनेछ । जानकारहरूका अनुसार आशारामको पक्षधरद्वारा राखिँदै आएको बकम्फुसे तर्कले अदालत पनि दिक्क भएको छ ।
अदालतले आशारामलाई प्रहरी र कानुनलाई काम गर्न दिनुस् भन्दै जवाफ दिइसकेको छ । उनले सोमबारको बहसमा हात जोडेर जमानत दिन आग्रह गरेका
थिए । उनका वकिलले जमानत दिइनुपर्ने आधारभन्दा पीडित पक्षमाथि आधारहीन आरोप लगाउनमा समय खर्चेकाले अदालतले कडा रूप अपनाएको हो ।
हिरासतको म्याद सकिनुअगावै जोधपुर प्रहरीले उनीविरुद्ध अदालतमा अभियोग पत्र दर्ता गराउने लगभग पक्का छ । कानुनी कारबाही जारी रहेकै बेला आशारामका छोरा नारायण साईले पिताको छवि स्वच्छ भएको दाबी गरेका छन् । भारतका प्रतिष्ठित समाचार च्यानलहरूलाई मंगलबार दिएको अन्तरवार्तामा उनले यस्ता आरोपले आशाराम बापुको अनुयायीको विश्वासमा रत्तिभर असर नपर्ने बताए । उनले न्यायालयमाथि पूरा भरोसा रहेको चलाखीपूर्ण धारणा राखेका थिए ।
उनले आशारामका तर्फबाट कसैलाई कुनै धम्की र प्रलोभन नदिइएको बताए । यसबारेमा प्रहरी र पीडित पक्षका वकिलसँग यथेष्ट प्रमाण छ ।
स्वास्थ्यको देखभालका लागि आशारामद्वारा कारागारभित्रै महिला वैद्यको मागबारेमा छोरा नारायणले केही बोलेनन् । मानसिक रूपले अस्वस्थ किशोरीको आडमा बदनाम पार्ने षड्यन्त्र रचिएको उनले दाबी गरे । आशाराम पक्षद्वारा नियुक्त भारतका चर्चित वकिल राम जेठ मलानीले पनि पीडितलाई पुरुषसँग नजिकिने रोग भएको र यस्ताको पछि लाग्ने मिडिया पनि पाग्ाल भएको बयान दिएर विवाद खडा गरेका थिए ।
आशारामको उचाइ आकाशझैं भएको हुनाले यस्ता आरोपहरूले रत्तिभर असर नपर्ने उनले बताए ।
आशाराम, परिवारजन र समर्थकद्वारा राखिँदै आएका यस्ता दाबीहरूलाई आधारहीन र झूटो मान्दै अदालतले खारेज गरिसकेको छ । उनले आश्रममा हुने राशलीलालाई साधनाको एक विधि बताए ।
आशारामको आश्रममा दुई बालकको मृत्यु प्रकरणमा सर्वोच्चले क्लिन चिट दिएको उनले बताए । यो मामिलामा अदालतले कुनै फैसला सुनाएको छैन । उनी आफैं बलजफ्ती बिहे र कृष्ण बनेर नवयुवतीसँग राशलीला गरेकोमा विवादित भइसकेका छन्् ।
उनले यसलाई साधनाको विधि र धार्मिक जिम्मेवारी भन्दै पन्छिएका छन् ।
गैरकानुनी ढंगले बनाइएका आशारामका आश्रमहरू वन विभाग र नगरपालिकाले एकपछि अर्को गर्दै भत्काइरहेको छ । यसबारेमा पनि आश्रमका उत्तराधिकारी साई मौन देखिए । एजेन्सीहरू :