काठमाडौ, आश्विन १ ,
यस वर्षको 'मिस अमेरिका' को ताज भारतीय मूलकी सुन्दरी निना दावुलुरीको शिरमा परेको छ । भारतीय आप्रवासी निनाले 'मिस न्युयोर्क' उपाधि जितेर उक्त प्रतियोगितामा भाग लिएकी थिइन् ।
भविष्यमा चिकित्सक बन्ने लक्ष्य बोकेकी २४ वर्षीयाका बुवा फिजिसियन हुन् । आफूले उपाधिसँगै पाएको ५० हजार डलर पनि अध्ययनमै खर्चिने जनाएकी छन् ।
'मिस अमेरिका' को ताज जित्ने पहिलो भारतीय बनेकी निना त्यसको खुसी अनुभव गर्न नपाउँदै विभिन्न जातीय आक्रमणको सिकार भएकी छन् ।
ट्वीटर र फेसबुक जस्ता सामाजिक सञ्जालमा उनीविरुद्ध रंगभेदी र जातीय दुव्र्यवहार बढेको छ । तर 'मिस अमेरिका' को ताज जितेलगत्तै निनाले चाहिँ आयोजकप्रति कृतज्ञ हुँदै विकेन्द्रीकरणलाई आत्मसात् गरेकामा खुसी मानिन् ।
ट्यालेन्ट राउन्डमा समेत बलिउड फ्युजन डान्स दिएकी निनाबारे ट्वीटरमा एक अमेरिकीले लेखेका छन्, 'यदि तिमी मिस अमेरिका हौ भने तिमी अमेरिकी हुनैपर्छ ।' पछिल्लो समयमा कालो वर्णका युवतीले उपाधिमा कब्जा जमाउन थालेपछि अर्काले ट्वीट गरेका छन्, 'अब सेतो वर्णकी युवतीले कहिल्यै उपाधि जित्लिन् ?'
आन्ध्रप्रदेशको तेलुगु परिवारकी निना 'मिस न्युयोर्क' बन्ने पनि प्रथम भारतीय सुन्दरी हुन् ।
'मिस न्युयोर्क' को ताज जितेपछि उनलाई अत्यधिक भोक लाग्ने समस्याले सताएको थियो र उनको तौल निकै बढेको थियो । कुनै क्षण त उनले 'मिस अमेरिका' का लागि प्रतिस्पर्धा नगर्ने मनस्थिति पनि बनाइसकेकी थिइन् । तर उनले हिम्मत जुटाइन्, जिम गइन् र छोटो अवधिमै ५० पाउन्ड तौल कम गर्न सफल भइन् । अनि ताज जित्न पनि ।