काठमाडौं भाद्र १९,
आउँदो शुक्रबार नेपाली फिल्म 'जन्जीर' हेर्न जाने मनस्थिति बनाउनु भएको छ भने टिकट काट्ने बेला ख्याल गर्नु होला टिकट काट्नेले तपाईंको हातमा हिन्दी फिल्म 'जन्जीर'को टिकट थमाइदेला। रामचरणको साटो जयकिशन बस्नेतलाई देख्नुहोला।
आउँदो शुक्रबार तपाईंलाई यस्ता समस्या पर्न सक्छन् किनकि 'जन्जीर' नामका दुई फिल्म एक साथ रिलिज हुँदैछन्। एउटा नेपाली र अर्को हिन्दी। नेपालीको निर्देशन शोभित बस्नेत र हिन्दीको निर्देशन अपूर्व लखियाले गरेका छन्।
सन् १९७३ को अमिताभ बच्चनवाला 'जन्जीर'कै रिमेक भारतमा रिलिज हुन लागेको हो। अमिताभको भूमिका तमिल सुपरस्टार चिरञ्जिवीका छोरा रामचरणले निर्वाह गरेका छन् भने प्रियंका चोपडाले जय भादुरीको भूमिका पाएकी छन्।
प्राणले खेलेको शेर खानको भूमिकामा भने सञ्जय दत छन्।
नेपाली 'जन्जीर'मा भने जयकिशन बस्नेत हर्षिका श्रेष्ठ, करण क्रेजी र सुनिल रावल जस्ता कलाकार छन्। थुप्रै नेपाली फिल्मले हिन्दीको कथा चोरेका छन्। नामको त कुरै भएन। यसको संयोग के छ भने नेपालीहरुले जति पनि हिन्दी नामबाट नेपाली फिल्मको नाम राख्छन् हिट फिल्म छान्छन्।
हिन्दी फिल्मसँग नेपाली फिल्म जुधे पनि एउटै नाम भएको फिल्मको रिलिज डेट जुधेको चाहिँ यो पहिलोपटक हो। हिन्दीसँग जुधे पनि निर्देशक शोभितलाई कुनै डर छैन। भन्छन्, 'कुनै खानको फिल्म भएको भए डराउनु हुन्थ्यो, यो त खासै चिनिएका कलाकारको फिल्म होइन।'