पाकिस्तानमा २ वटा बम बिस्फोट हुँदा ३३ को मृत्यु I

पेसावर  आश्विन १४ ,

पाकिस्तानको पेसावर बहरमा आइतबार भएका २ वटा बम विस्फोटमा ३३ जनाको मृत्यु भएको छ । किस्सा ख्वानी नामक अति व्यस्त बजारमा उक्त विस्फोट भएको थियो ।

अधिकारीहरूका अनुसार घटनामा ७६ जना घाइते भएका छन् । विस्फोटमा करिब ८ पसल र केही सवारी साधन ध्वस्त भएका छन् । एक साताअघि पेसावर मै एक चर्चमा भएको दोहोरो आत्मघाती आक्रमणमा ८० जनाको मृत्यु भएको थियो । 

गत शुक्रबार पेसावर नजिक सरकारी कर्मचारी सवार बसमा भएको आक्रमणमा १७ जना मारिएका थिए । पेसावर पाकिस्तानको अफगानिस्तान सीमावर्ती उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वाह प्रान्तको प्रमुख सहर हो । उक्त सहरमा तालिबानी लडाकु समूहले विस्फोट र आक्रमण गर्दै आएको छ । आइतबारको विस्फोट कार बमको माध्यमबाट गराइएको प्रहरीको आशंका छ । पाकिस्तानका स्वास्थ्यमन्त्रीलाई उद्धृत गर्दै समाचारपत्र 'डन' ले जनाएअनुसार उक्त आक्रमण पेसावरस्थित प्रहरीको मुख्य कार्यालयलाई लक्ष्य गरिएको थियो । यद्यपि बम डिस्पोजल टोलीका अनुसार उक्त विस्फोट प्रहरी कार्यालयबाट केही टाढा भएको थियो । समाचार एजेन्सी एएफपीसँग बम डिस्पोजल टोलीले बताएअनुसार पार्क गरिएको गाडीमा राखिएको बम रिमोट कन्ट्रोलबाट विस्फोट गराइएको थियो । 

घटनामा घाइतेको स्थानीय लेडी रिडिङ अस्पतालमा उपचार भइरहेको छ । उनीहरू नराम्रोसँग जलेका छन् । अस्पतालमा समेत संकटकाल घोषणा गरिएको छ । हैरान सरिफ पेसावर र आसपास क्षेत्रमा लगातार भइरहेका विस्फोट र आक्रमणका घटनाले प्रधानमन्त्री नवाज सरिफ हैरान भएका छन् । पछिल्लो समय उनी तालिबानी लडाकु समूहलाई शान्तिप्रक्रियामा ल्याउने प्रयासमा छन् । उक्त समूहलाई शान्तिको मार्गमा ल्याएपछि पाकिस्तानमा कट्टरपन्थी गतिविधि समाप्त हुने उनको अपेक्षामा लगातारका आक्रमणले पानी फेरिदिएका छन् । तालिबान समूहले देशको अहिलेको संविधान खारेज गरेर सरिया कानुन लागू गर्नुपर्ने माग गर्दै आएको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्कमा रहेका प्रधानमन्त्री सरिफले आइतबार पेसावर घटनाको निन्दा र भत्र्सना गरेका छन् । 

भारतीय प्रधानमन्त्री मनमोहन सिंहसँग आइतबार भेटवार्ता गरेका छन् । उक्त भेटघाटअघि नै महासभालाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री सिंहले पाकिस्तान अझै आतंकवादको केन्द्र रहेको गम्भीर आरोप लगाइसकेका छन् । संयुक्त राष्ट्रसंघका लागि पाकिस्तानी दूत मसुद खानले आफ्नो देशमा स्थिरता र समृद्धि छिमेकी अफगानिस्तानको शान्ति र सुरक्षासँग निर्भर रहेको बताइसकेका छन् । अफगानिस्तान सँग हाम्रो सम्बन्ध नियतिले निर्धारण गरेको छ,' उनले भने, 'हामी अफगानिस्तानको शान्ति प्रक्रिया अघि बढाइरहेका छौं तर सबै पक्ष शान्ति प्रक्रियामा साझेदार बने मात्र प्रगति हासिल हुनेछ ।' शान्ति बहालीको प्रयासस्वरूप पाकिस्तानी तालिबानसँग भएको दोहा वार्ता विफल भएको छ । एजेन्सी : 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com