काठमाण्डौ भाद्र १६,
नेपाली महिलाहरूको महान् चाड तीजको अवसरले बुटिक, फेसन सेन्टर एवं बजारहरू तताएको छ। सहर-बजारमा तीज आउनुभन्दा एक महिनाअघिदेखि नै राता परिहनमा सजिएर हिँडेका महिलाहरूको चहलपहल देख्न सकिन्छ। तीजमा रातो पहिरन किन्न बुटिकदेखि डिपार्टमेन्ट स्टोर, फेसन सेन्टरदेखि लिएर विभिन्न पसल धाउने युवतीहरूको भीड थामिनसक्नु हुन्छ।
रातो र हरियो रंगलाई सौभाग्यको प्रतीक मानिने भएकाले पनि यसपटक यही रंगले बजार पिटेको व्यवसायीहरू बताउँछन्। तीजका लागि तीज विशेष पहिरनमा कतिपयले छुटको समेत व्यवस्था गरेका छन्। पछिल्लो समयमा महिलाहरू तीज पहिरनका लागि बुटिक नै आउने दीपाज् क्रिएसनका डिजाइनर प्रेम देव बताउँछन्।
चाडपर्वमा सारी र ब्लाउज सबै वर्ग एवं समुदायको साझा पहिरन भएका छन्। हिजोआजका युवतीहरूले पनि चाडपर्व एवं पार्टीहरूमा सारी र ब्लाउज नै बढी रुचाउने डिजाइनरहरूको अनुभव छ। त्यसैले पनि तीज विशेष पहिरनमा सारी र ब्लाउज नै सबैको रोजाइमा हुन्छ।
तीजका लागि तयार पारिने स्पेसल सारीमा थ्रेड वर्क, स्टोन वर्क, मेसिन वर्क, जर्दोजी वर्क, बोर्डर वर्क, भेल्वेट प्याच वर्क, सितारा, क्रिस्टल तथा मोती जडान गरिएको हुन्छ। फेबि्रकमा भने नेट, जर्जेट, सिफन, बनारसी सिल्क, क्रेप सिल्क प्राथमिकतामा पर्छ। अहिले भेल्वेट, ब्रोकेट, नेटका ब्लाउज पनि फेसनमा छन्। यसको डिजाइनमा भने डिप ओपन डिजाइन, ट्रान्सपरेन्स ब्याक डिजाइन, मर्डका डिजाइन र पछाडि झुम्का राख्ने डिजाइन तीजका लागि विशेष भएको प्रेम देवले बताए। ब्लाउजमा पनि स्टोन वर्क, प्याच वर्क, थ्रेड वर्कका साथै मोती, पोते तथा किस्टिल विशेष पि्रय छन्।
तीज विशेष सारी तथा ब्लाउजको मूल्य २५ सय रुपैयाँदेखि ३० हजार रुपैयाँसम्म छ।
तीज फेसनअन्तर्गत कुर्ता-सुरुवाल पनि उच्च प्राथमिकतामा छ। त्यसमा पनि रातो र मरुन रंग प्राथमितामा पर्छ। त्यसपछि भने रातो र सुनौलो, रातो र हरियो बढी प्रचलनमा रहेको डिजाइनरहरू बताउँछन्। कुर्ता-सुरुवालमा आउटर भएको अनारकली, चोली भएको अनारकली, सादा अनारकली, लेहङ्गा स्टाइल अनारकली आदि फेसनमा छन् भने पटियाला कुर्ता-सुरुवाल पनि धेरैले रुचाएका छन्।
अहिले कुर्ता-सुरुवालमा पछाडि डिपलेस, ब्याकलेस, ब्रुच राख्ने फेसन छ। यस्ता कुर्ता-सुरुवालको मूल्य १५ सय रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म पर्छ।
तीजको फेसनकै रूपमा लेहङ्गाका नयाँ-नयाँ डिजाइन पनि बजारमा आउँछन्, तर सारी-ब्लाउज र कुर्ता-सुरुवालको लोकपि्रयतालाई अरूले उछिन्न गार्है छ। अहिले रातो र मरुन रंगको लेहङ्गा बढी प्रचलित छ। लेहङ्गाको मूल्य ३ हजार रुपैयाँदेखि ३५ हजार रुपैयाँसम्म पर्छ। त्यसपछि गाउन प्राथमिकतामा पर्छ। स्टोन, जरी र मोती भरिएको गाउनको मूल्य ३५ सय रुपैयाँदेखि १५ हजार रुपैयाँसम्ममा खरिद गर्न सकिन्छ।साता ;