माडी आषाढ ३०,
सनारायणगढबाट माडीको बगाईंका लागि छुटेको यात्रुबाहक बस माडीको बसन्तपुर नजिक दुर्घटनामा परेको छ । नारायणी यातायात व्यवसायी संघद्वारा सञ्चालित ग.१.ख. ३८८४ नम्बरको यात्रुबाहक बस तीब्र गतिका बिच स्टेरिङ फेल भएका कारण बसन्तपुरको पुल्चोक छेउको खेतमा पल्टिएको समितिका प्रतिनिधी लाल कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
तीब्र गतिमा रहेको बस पल्टिनु पूर्व माडीकै धोवाहा घर भएका भोला साहलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट घाइते भोला बाटोछेउको खेतमा खसेका थिए भने अनियन्त्रित बस बाटोको उत्तरपट्टी रहेको हिलाम्य धानखेतमा पल्टिन पुगेको थियो ।
बसमा सवार यात्रुहरुमध्ये करीब ४० जना घाइते भएको जनाइएको छ । घाइतेहरुलाई स्थानीय माडी पुष्पाञ्जली अस्पताल तथा अन्य स्वास्थ्य क्लिनिक र प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरिएको छ भने र तुलनात्मक रुपमा सघन घाइते १९ जनालाई थप उपचारका लागि एम्बुलेन्स र स्थानीय दिवाकर स्मृति विद्यालयको बसमा राखी भरतपुर लगिएको इलाका प्रहरी कार्यालय, बसन्तपुरले जनाएको छ ।
घाइतेहरु सबैजना खतरामुक्त रहेको बताइएको छ ।
दुर्घटनामा परी घाइते हुनेहरुमा माडी अयोध्यापुरी गाविसका जगन्नाथ लामिछाने, पुरुषोत्तम भण्डारी र माधव आचार्य हुनुहुन्छ भने कल्याणपुर गाविसका अञ्जित गुरुङ, पार्वती सापकोटा, मनोज गुरुङ, अम्रिता भुजेल, गणेश बहादुर रानाभाट, हरि पौडेल, उमेश शाह रौनियार, लक्ष्मण पोख्रेल, आकाश रानाभाट र चिज कुमारी सुनार तथा उहाँका चार बर्षिय नाती किरण सुनार हुनुहुन्छ ।
त्यसैगरी दुर्घटना भएकै गाविस बघौंडाका घाइतेहरुमा टिका महतो, गीता पौडेल, उषा खड्का, शुष्मा खड्का, निरज थापा, भीम कुमारी भुजेल, बिक्रम क्षेत्री, अनु अधिकारी र मीना अधिकारी लगायत हुनुहुन्छ भने गर्दी गाविसका सुनिता पौडेल, बसन्त गुरुङ, मंगली नेपाली, शान्ती बि.क. र सुनिल महतो पनि घाइते हुनुहुन्छ । त्यसैगरी ठोरी इच्छानगरका सुब्बा सिद्धी लामा, नवलपरासी तम्सरियाका कपिल कुमार एवं इलाम घर भई मार्केटिङ्का क्रममा माडी आउनुभएका प्रेम के.सी. र अञ्जु तामाङ समेत घाइते हुनुभएको छ ।
माडीका लागि नारायणगढबाट दुर्घटना भएको दिन छुटेको उक्त अन्तिम बस साँझपख दुर्घटना परेको र लगत्तै रात परेकाले उद्दार कार्य प्रभावित भएको घटनास्थलमा भेटिएका स्थानीय युवा हरिकृष्ण लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार पल्टिएको बस स्थानीय बि.ब्रदर्स कन्स्ट्रक्सनको स्काई भेटरको मद्दतले रातीनै सिधा पारिएको छ भने बसलाई प्रहरीको निगरानीमा राखिएको छ । साथै दुर्घटनाको क्रममा छरप्रष्ट भएका सरसामान र झोलाको सुरक्षाका लागि प्रहरी तैनाथ गरिएको इलाका प्रहरी कार्यालय बसन्तपुरका प्रहरी नायव नीरिक्षक हरि प्रधानले जानकारी दिनुभयो ।
_ तारा पौडेल र दीपा भुसाल माडी _