काठमाण्डौ असार २०,
सन् १९९७ मा कुपन्डोलमा स्थापित लखौटिया इन्स्टिच्युट भारतको प्रसिद्ध फेसन डिजाइनिङ इन्स्टिच्युट लखौटियाको शाखा हो। फेसन संसारमा आत्मनिर्भर र दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ अघि बढिरहेको लखौटियाबाट उत्तीर्ण ९ सय विद्यार्थीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा ख्याति कमाइरहेका छन्।
फेसन बजारमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य लिएको यो इन्स्टिच्युटमा एस.एल.सी. उत्तीर्ण गर्नेहरूले भर्ना पाउँछन्। एकेडेमिक डिग्री नपाए पनि यहाँको पढाइ गुणस्तरीय भएको दाबी गर्दै लखौटियाका केन्द्र्रीय निर्देशक मुकुन्द श्रेष्ठ भन्छन्-हामी दक्षता र क्षमतामा विश्वास गर्छौं। संख्यात्मक होइन गुणस्तरीय उत्पादन हाम्रो लक्ष्य हो।
व्यावसायिक शिक्षामा जोड दिने यो इन्स्टिच्युटमा अहिले ३५ जना विद्यार्थी अध्ययनरत छन्।
६ महिने सर्टिफिकेट, १ वर्षे डिप्लोमा तथा २ वर्षे अनरसीप डिप्लोमा कोर्स पढाइ हुने यो इन्स्टिच्युटमा ३ महिने सर्ट ट्रम कोर्स पनि पढाइ हुन्छ। यहाँका प्रायः उत्पादन बुटिक संचालन, गार्मेन्ट हाउसदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन जगत्मा समेत ख्याति कमाइरहेका छन्। विश्वव्यापी रूपमा व्यस्त र विकासको चरम सीमा पुगेको इंग्ल्यान्डमा गएर नाम, दाम, प्रतिष्ठा तथा ख्याति कमाइरहेकी नेपाली फेसन डिजाइनर संयुक्ता श्रेष्ठ पनि लखौटियाकी उत्पादन हुन्।
फेसन डिजाइनलाई विभिन्न विधामा छुट्याएर पढ्न सकिन्छ। धेरै पैसा नहुनेले पनि यो शिक्षा पढेर खेर जाला भन्नुपर्दैन। उनीहरूले साधारण सिलाइको काम गरेर खान सक्छन्। व्यवसायमुखी भएका कारण पनि यो शिक्षा अहिले प्रचलित छ। फेसन डिजाइनिङ शिक्षा विविधताले भरिएको हुनाले सबै वर्गका मानिसका लागि उपयोगी भएको प्रस्ट्याउँदै लखौटियाकी व्यवस्थापक मिलन श्रेष्ठ भन्छिन्-यो गरिखानका लागि राम्रो पेसा हो।
जाँगर भएकाहरूले यो शिक्षा पढेर धेरै प्रगति गरेका छन्। त्यसबाहेक लखौटियाका विद्यार्थीलाई जब प्लेसमेन्टको समेत व्यवस्था छ। जसले दक्ष विद्यार्थीका लागि राम्रो प्लेटर्फमको काम गर्छ। जुन समयमा नेपालमा फेसन डिजाइनिङलाई टेलरिङभन्दा फरक मानिँदैनथ्यो त्यतिबेला लखौटियाले फेसन डिजाइनिङको अवधारणा प्रस्ट्याउने काम गरेको श्रेष्ठको दाबी छ।
मासिक शुल्क ३ हजार लाग्ने यो इन्स्टिच्युटको प्रमुख विशेषता कम शुल्कमा गुणस्तरीय शिक्षा, प्रयोगात्मक ज्ञान तथा दक्ष शिक्षकका साथै इन्टर्नसीपको व्यवस्था नै हो। जुनसुकै शिक्षामा पनि व्यावसायिकता खोजिने भएकाले डिग्री हातमा लिएर बेरोजगार बस्नुभन्दा सीपमूलक शिक्षा हासिल गरी स्वरोजगार हुनु नै उत्तम हुने श्रेष्ठको धारणा छ। नारी: