डा. अर्पना बस्नेत
छालारोग विशेषज्ञ
शिक्षण अस्पताल, महाराजगञ्ज
कुनै कारणले शरीरमा हुने प्रतिअसरलाई एलर्जी भनिन्छ । शरीरको बाहिरी वा भित्री भागको प्रतिअसरले एलर्जी हुन्छ । हामीले प्रयोग गरिरहेका वस्तुबाट नै प्रायः एलर्जी हुन्छ । यसलाई ‘एलर्जिक कन्ट्याक्ट डर्माटाइटिस’ भनिन्छ । जस्तै, हामीले लगाएको लुगा वा कुनै धातुले पनि एलर्जी हुन सक्छ । टप, फुली, औँठी, घडी, बेल्ट आदिका कारण एलर्जी हुन्छ ।
धातुले शरीरको जुन भागलाई छोएको हुन्छ त्यस भागमा एलर्जी आउने हुन्छ । कहिलेकाहीँ सामान प्रयोग गरेको एक महिना वा कहिलेकाहीँ लामो समयपछि पनि एलर्जी हुन सक्छ । एटोपिक डर्माटाइटिसका कारण शरीरको भित्री भागमा एलर्जी हुन्छ र यसले बाहिरी भागमा असर देखाउँछ । यो विशेष गरी बच्चाहरूमा देखिन्छ ।
कसैकसैलाई कस्मेटिक, हेयर ड्राई, तुथपेस्टको पनि एलर्जी हुन सक्छ । प्रयोग गरिने सामानबाट जुनसुकै समयमा पनि एलर्जी आउँछ भन्ने बुझ्नु जरुरी छ । कसैकसैलाई औषधिका कारण पनि एलर्जी हुने सम्भावना हुन्छ । जस्तै, पहिलो पटक औषधि सेवन ग¥यो भने एकदेखि डेढ महिनामा एलर्नी देखिन सक्छ ।
पटक–पटक त्यही औषधि सेवन गर्दा २४ देखि ४८ घन्टामा एलर्जी देखिन सक्छ । खाने औषधि मात्र होइन, शरीरमा लगाउने औषधिका कारण पनि एलर्जी हुन्छ । यसमा शरीरभरि रातो डाबर आउने, चिलाउने, पानीको फोकाहरू आउने हुन्छ । साथै शरीरको छाला निस्केर पनि जान सक्छ र एलर्जीकै कारण कहिलेकाहीँ मृत्यु समेत हुन सक्छ ।
एलर्जी विभिन्न प्रकारका हुन्छन् । छालामा प्रयोग गरिने कस्मेटिक तथा औषधिका कारण हुने एलर्जी दुई प्रकारका छन् । जसमा कन्ट्याक्ट डर्माटाइटिस र इरिटेन्ट कन्ट्याक्ट डर्माटाइटिस मुख्य हुन् ।
इरिटेन्ट कन्ट्याक्ट डर्माटाइटिस केमिकलका कारण हुन्छ । यसमा जुन भागमा केमिकल पर्छ त्यस भागमा दाना आउने, पोल्नेजस्ता एलर्जीका लक्षण देखा पछर्न् ।
त्यसैगरी, एक्युट, सबएक्युट र दीर्घकालीन एलर्जी पनि हुन्छन् । एक्युट एलर्जी पाँचदेखि सात दिनसम्म देखा पर्छ । सबएक्युट एलर्जी चारदेखि ६ हप्तासम्म देखा पर्छ भने दीर्घकालीन एलर्जी एक वर्षभन्दा धेरै समयसम्म देखिने हुन्छन् ।
एक्युट एलर्जीमा पानीका फोकाहरू जस्तो देखा पर्न सक्छ भने दीर्घकालीन एलर्जीमा छाला जाने या बढी चिलाउने हुन्छ । दीर्घकालीन एलर्जी दुःख दिनेखालको हुन्छ । यसका कारण लामो समयसम्म औषधि सेवन गर्नुपर्ने हुन्छ ।
एलर्जी पत्ता लगाउन ल्याब टेस्ट गरिन्छ । उपचारका लागि के कारणले एलर्जी भएको हो भन्ने थाहा पाउन जरुरी हुन्छ । एलर्जीको प्रमुख सामस्या भनेकै के कारणले एलर्जी भएको हो भन्ने पत्ता लगाउनु हो ।
एलर्जी थाहा भएमा त्यसबाट बच्न वा चिकित्सकसँग सम्पर्क गरी त्यसको उपचार गर्न सकिन्छ । औषधि सेवन वा लगाउने औषधिको प्रयोगबाट एलर्जी पूरै ठिक हुन सक्छ वा त्यसलाई नियन्त्रणमा राख्न सकिन्छ ।स्वास्थ्य खबर :