अफ्रिकी मूलकी मन्त्रीको तुलना वनमान्छेसँगको संवादले गोरा सांसदले तीव्र आलोचना I

रोम श्रावण १,

अफ्रिकी मूलकी इटालेली पहिलो महिला मन्त्रीको तुलना वनमान्छेसँग गर्दा एक गोरा सांसदले तीव्र आलोचनाको सामना गरिरहेका छन् । आप्रवासी नीतिको विरोध गर्ने नोदर्न लिगका नेता रोबर्टो काल्देरोलीले शनिबार एक र्‍यालीमा एकीकरण मन्त्री सेसिली क्येंगेलाई हेर्दा वनमान्छेको सम्झना आउने गरेको बताएका थिए । 

काली क्येंगेलाई मन्त्री बनाउँदा मुलुकमा अवैध रूपले प्रवेश पाउनेले प्रोत्साहन पाउने बताए । रोबर्टो सिनेटका उपप्रमुख पनि हुन् । उनी दुईपटक मन्त्री पनि भइसकेका छन् । 'सबैलाई थाहा छ, मलाई भालु र भेडाजस्तो जनावर मन पर्छ तर मलाई क्येंगेको तस्बिर हेर्दा वनमान्छेको याद आउँछ,' उनले भने । क्येंगले आफू जन्मेको मुलुकमा मन्त्री बन्नुपर्ने उनले सुझाव दिए । 

अफ्रिकी मुलुक कंगोमा जन्मेकी क्येंगे इटालीका नागरिक हुन् । अपि्रलममा मन्त्री भएदेखि उनीविरुद्ध लगातार जातीय र रंगभेद झलिक्ने खालको टीकाटिप्पणीहरू भइरहेका छन् । रोबर्टोको यो भनाइको अहिले सामाजिक सन्जालमा निकै आलोचना भइरहेको छ । अन्य ठूला नेताहरूले पनि उनको कडा विरोध गरेका छन् । प्रधानमन्त्री एनरिको लेट्टाले रोबर्टोले सारा सीमा पार गरेको हुनाले आफू सेसिलीको पक्षमा रहेको बताए । नेता रोबर्टोले सुरुमा आफ्नो धारणा आप्रवासमाथि व्यापक बहसको हिस्सा भएको बताएका थिए । तर आइतबार साँझ उनले क्येंगेसँग फोन सम्पर्क गरेर माफी मागेको बताए । 

युरोपेली संसद्मा नोर्दन लिगकै सदस्य मारियो बोरघेजियोले पनि क्येंगेलाई इटालीमा आदिवासी संस्कृति लाद्न खोजेकोभन्दा पार्टीबाट निष्कासित भएका थिए । मन्त्री क्येंगले आफू व्यक्तिगत रूपले कसैमाथि टिप्पणी गर्न नचाहेको बताइन् । वरिष्ठ सिनेट सदस्यका नाताले आफूलाई कसरी प्रस्तुत गर्ने र कस्तो भाषा प्रयोग गर्ने काल्डेरोलीले तय गर्नुपर्ने विषय भएको उनले बताइन् । मन्त्री क्येंगले आप्रवासीलाई नागरिकता उपलब्ध गराउन सहज वातावरणका लागि अभियान चलाएकी छन् । इटालीमा जन्मेका स्वतः नागरिक हुने कानुनलाई पनि उनले समर्थन गरिहेकी छन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com