वर्षमा ६ सय ८८ चेली हराउछन I

काठमाडौ श्रावण ११, 

सुदूर र मध्यपश्चिमबाट एक वर्षमा ६ सय ८८ चेली हराएका छन् । २०६९ र ७० मा यी क्षेत्रबाट ६ सय ८८ महिला हराएको भन्दै खोजीका लागि माइती नेपालका नेपालगञ्ज, धनगढी र कञ्चनपुरस्थित कार्यालयमा निवेदन परेका छन् । सुदूरभन्दा मध्यपश्चिमबाट बढी महिला बेपत्ता भएका छन् । चेलिबेटी बेचबिखनविरुद्ध काम गर्ने माइती नेपालको नेपालगञ्ज कार्यालयमा मात्रै ४ सय ८७ महिला खोजिदिन निवेदन दिइएको छ । तीमध्ये ४२ जनामात्रै फेला परेका छन् । 

गत आवमा ३ सय ३२ र अघिल्लो बर्ष २ सय ९५ जनाले खोजीका लागि निवेदन दिएको कायाएलय प्रमुख केशव कोइरालाले बताए । धनगढीस्थित माइती नेपालको कार्यालयमा बितेको एक वर्षमा वेपत्ता चेली खोजी माग्न २५ वटा निवेदन परेका कार्यालय प्रमुख शिवचरण चौधरीले बताए । तीमध्ये २० महिलालाई सीमाबाट उद्दार गरी अभिभावकको जिम्मा लगाइएको उनले बताए । गत वर्ष सो सीमाबाट ३८ चेलीको उद्दार गरिएको थियो । सो वर्ष खोजतलासका लागि ५१ चेलीका अभिभावकको निवेदन माइती नेपालमा परेको थियो । 

२०६९/७० मा माइती नेपाललको कञ्चनपुर कार्यालयमा १ सय १२ जनाले खोजतलास गरिदिन निवेदन दर्ता गराएका थिए । देशका पूर्वी नाकाहरुमा कडाई गरिएपछि दलालहरुले सुदूर र मध्यपश्चिमका नाकाहरुबाट भारत तथा तेस्रो मुलुकको जोखिमपूर्ण यात्रामा लैजान थालेका छन् । यात्रा गर्नेको संख्या बढेसँगै खोजतलासका निवेदनहरु पनि बढ्दै गएका छन् । सुदूरपश्चिमको नाका प्रयोग गर्नेमा सुदूरपश्चिमका भन्दा पनि पूर्वी तथा मध्य नेपालका जिल्लाका महिला बढी छन् । 

यहाँका नाकाबाट सजिलै पार गर्न सकिने र भारतको राजधानी दिल्ली नजिक भएकाले उनीहरुको रोजाईमा गौरीफण्टा तथा गड्डाचौकी नाका परेका हुन् । रोजगारीको सिलसिलामा अवैधानिक तरिकाले भारत या तेस्रो मुलुक जाने महिलाहरु जोखिमपूर्ण काममा पर्ने गरेका छन् । ललाईफकाईमा परेर जाने त्यस्ता महिलाहरु घरपरिवारकै सल्लाहमा गएपनि पछि नराम्रो काममा परेपछि खोजतलासका लागि भन्दै निवेदन दिने गरेको समेत पाइएको छ । यसरी जाँदा भारत तथा तेस्रो मुलुकमा श्रम र यौन शोषणमा परेका ३३ महिलाको यसवर्ष उद्धार गरिएको छ । 

माइती नेपालको नेपालगञ्ज कार्यालयले ३१ र कैलाली कार्यालयले २ महिलाको भारतबाट उद्दार गरेको हो । उनीहरुमध्ये अधिकांश भारतीय बेश्यालयमा बेचिएका थिए । माइती नेपाल, नेपालगञ्जले गएको वर्ष १४ र अघिल्लो वर्ष ४ महिलाको उद्धार गरेको थियो । दलाललाई आफ्नो मान्छे बनाएर या किनमेलको निहुँमा सीमा पार गर्न खोज्ने शंकास्पद ३ सय ४५ जनालाई नेपालगञ्ज नाकाबाट फर्काइएको छ । यसरी गतवर्ष २ सय ४५ र अघिल्लो वर्ष २ सय १४ जनालाई सो नाकाबाट फर्काइएको थियो । कारोबार दैनिक :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com