पुरस्कार र दण्डले प्रभावकारी भूमिका खेल्ने - मन्त्री प्रधान

हेटौडा असार २२,

महिला, बालबालिका तथा समाज कल्याण मन्त्री रिद्धीबाबा प्रधानले सामाजिक क्षेत्रमा प्रभावकारी सेवा प्रदान गर्नका लागि पुरस्कार र दण्डको व्यवस्थाले प्रभावकारी भूमिका खेल्ने बताएका छन्। समाज कल्याण परिषद्, नेपाल सरकार, गैरसरकारी संस्था तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको क्षेत्रीय समन्वय गोष्ठीको आज उद्घाटन गर्दै मन्त्री प्रधानले परिषद्ले संस्थाहरुको पारदर्शिताको लागि एकद्वार प्रणाली लागू गरिने बताए।

सबै संस्था र सरकारबीच समन्वय भएमात्र लक्षित वर्गसम्म सेवा र कार्यक्रम पुग्ने बताउँदै उनले आगामी संविधानसभाको निर्वाचन सम्पन्न गर्नका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नसमेत आग्रह गरे। प्रमोद मेहेताको सभापतित्वमा भएको सो कार्यक्रममा केन्द्रीय बाल कल्याण समितिका अध्यक्ष डिल्लीराम गिरी, समाज कल्याण परिषद्का पूर्णभक्त तण्डुकार, मकवानपुरका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्याल, नेपाल सैनिकका मध्य क्षेत्र पृतनापति नैनराज दाहाल र स्थानीय दलहरुको तर्फबाट एमाओवादी मकवानपुरका इन्चार्ज सोनामसिंह स्यान्ताङले मन्तव्य व्यक्त गरेका थिए।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com