गज़ल : By, कोमल भट्ट I



दिन रातै दस नङ्ग्रा खियाउन गाह्रो हुन्छ
पटक पटक मरेकालाई जीयाउन गाह्रो हुन्छ

भोक र रोगले सताएर पिल्सेकाछन् देशै भरि
सरकारलाई जीवनजल नि पियाउन गाह्रो हुन्छ

सत्र ठाउँमा टालेका छन् लुगा फाटा गरीवले
फेरि प्वाल पर्यो भने सियाउन गाह्रो हुन्छ

जाल,झेल र फट्याईं जति पर्दा भित्रै हुन्छन यहाँ
लुकेकाछन् कालो कर्तुत चियाउन गाह्रो हुन्छ

सोझा सिधा निमुखाको शोषण भयो जताततै
ठूला बडा सामन्तीलाई हियाउन गाह्रो हुन्छ

कागजमै सीमित भए जनताका हक सबै
गुमेका ती अधिकारलाई दियाउन गाह्रो हुन्छ

रोएकाछन् कयौं मान्छे घर बासै उठ्दा खेरि
को जान्छ र भेट्न तिनलाई भियाउन गाह्रो हुन्छ

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com