काठमाण्डु जेठ २०,
जब जब तराईमा नागरिकता वितरण थालिन्छ, तब–तब भारतीयहरु नेपाली नागरिकता लिन ओइरिन्छन् । अहिले पनि यस्तै भइरहेको छ । दोस्रो संविधानसभाको निर्वाचनमा मतदाता बन्न नागरिकता अनिवार्य हुनुपर्ने भनिएपछि सरकारले गाउँगाउँमा नागरिकता वितरण टोली परिचालन गरेको छ ।
तराईमा पनि धमाधम नागरिकता वितरण भइरहेको छ ।
जहाँ गैरनेपालीले धमाधम नागरिकता लिने क्रम चलिरहेको छ । यसको प्रमाणहरु पनि फेला पर्दै गएको छ । हो, भारतको श्रावस्ती जिल्लाको बाबुपुरवा बस्ने आज्ञाराम गडरिया नेपाली नगरिकता बनाउन खोज्दा बाँके प्रहरीबाट समातिएपछि गैरनेपालीले नागरिकता लिन खोजेको प्रमाण मिलेको छ । गडरियाका साथै उनलाई छोरा भनेर सिफरिस गर्ने बांके जिल्ला बनकट्टी ६ का उनका ससुरा बृजमोहन गडरियालाई पनि प्रहरीले पक्राउ ग¥यो ।
गडरियालाई छोरी ज्वाईंले नै कर गरेर छोरा बनाएर सिफारिस गर्न लगाएको भारतीय नागरिक स्वयं ज्वाईं आज्ञाराम बताउँछन् ।
२०६३ सालमा गाँउमा धेरैका भारतीय ज्वाईंहरुले नागरिकता पाएको सुनेका थिए यिनले ।
त्यही मेसोमा सिफारिस गराउँदा प्रहरीको आँखा लाग्यो । बृजमोहन आज्ञाराम जस्तै नेपाली नागरिकता लिन खोज्ने र उनीहरुलाई आफ्नो सन्तान भनेर सिफारिस गर्ने अहिले १२ जना पक्राउ परिसकेको बाँके प्रहरी प्रमुख भुपालकुमार भण्डारी बताउँछन् ।
यसरी पक्राउ परेकामा अधिकांश ससुरा ज्वाईं रहेका छन् । आफ्नो नाममा सम्पत्ति राख्न र नेपाल मै काम गर्न नागरिकता चाहिएको हो रे यिनीहरुलाई ।
बाँके जिल्लामा नागरिकता वितरण तथा फोटोसहितको मतदाता नामावली संकलनका लागि ९ वटा टोली परिचालन गरिएको छ । गैरनेपालीले नागरिकता लिने प्रयास गरेको स्वीकार्छन यहाँका सरकारी अधिकृतहरु । २०६३ सालमा वितरण गरिएको नेपाली नागरिकता धरै भारतीयहरुको हातमा परेको चर्चा चलेको थियो । त्यस मध्ये ६ वटा नागरिकता प्रशासनले बदर समेत गरेको थियो भने ४६ वटा उजुरीको विषयमा अहिले सम्म छानविन भईरहेको छ । बाँकेमा १० हजार भन्दा बढी नागरिकताको प्रमाण पत्र बाँडिएको छ । यद्यपी नक्कली नागरिकता लिनेहरुको प्रयास केही हदसम्म असफल भएको छ । तर, यति नै काफी भने होइन । (नेपालब्रिटेन)