विभिन्न प्रकृति महिला हिंसाका I

 काठमाण्डौ जेष्ठ २९,

सुष्मा पोख्रेल : हाम्रो समाजले अझै पनि पितृसत्तात्मक एवं परम्परागत सोच त्याग्न सकेको छैन। यद्यपि विश्व नै परिवर्तन भैरहेको अवस्था छ। नयाँ-नयाँ प्रविधिको विकाससँगै समाज झन्-झन् जटिल अवस्थाबाट गुजि्रएको छ। समाजमा देखापरेका विभिन्न प्रकृतिका विकृति एवं विसंगतिहरूमध्ये महिलामाथि हुने हिंसा अहिलेको परिवेशमा उच्च छ। 

महिलामाथि हुने हिंसा जघन्य अपराध हो, मानव अधिकारको हनन् हो। महिला हिंसा महिलाहरूले भोग्नुपर्ने शारीरिक एवं मानसिक पीडा हो। महिला हिंसा पुरुषबाट मात्र होइन महिलाबाटै पनि भएको पाइन्छ। अधिकांश नेपाली महिला कुनै न कुनै कारण अर्थात् माध्यमबाट पीडित भएरै जीवन गुजारिरहेका छन्। कहीँ बलात्कार, बोक्सीको आरोप त कहीँ दाइजो नल्याएको भन्दै उनीहरूमाथि अत्याचार गरिएको छ। अहिले महिला हिंसाविरुद्धको आन्दोलन चर्किएको छ। 

यसलाई महिलाहरूको आवाज मात्र मान्नुहुँदैन। यो महिलाहरूले पुरुषका विरुद्ध चलाएको आन्दोलन पनि होइन, बरु यो महिला समुदायमाथि हिंसात्मक गतिविधि विरोधी आन्दोलन हो, यो आन्दोलन पुरुषहरूको पनि हो, न्यायको खोज गर्ने नागरिक आन्दोलन हो। कामवासना, मोह र अहंकार नै पुरुषप्रधान समाजका अवगुण हुन्। रथका दुई पाङ्ग्राले मात्र रथ चलेझैं महिला हिंसाविरुद्धको अभियान पुरुषको सक्रिय सहभागिताबिना सफल हुन सक्दैन। 

महिलामाथि गरिने हिंसा विभिन्न किसिमका हुन्छन्। मारपिट वा गालीगलौज, महिलालाई शिक्षाबाट वञ्चित गर्नु, आफ्नो इच्छाविरुद्ध कसैसँग विवाह गरिदिनु, नोकरीबाट जबर्जस्ती त्यागपत्र बुझाउन लगाउनु, उनीहरूको आयमाथि हस्तक्षेप गर्नु, मानसिक रूपबाट तड्पाउनु पनि हिंसाअन्तर्गत नै पर्छ। कुनै पनि परिस्थितिमा उनीहरूको आत्मसम्मान तथा अभिव्यक्तिबाट अपमान गर्नु तथा उसको व्यक्तित्वको विकासमा बाधा पुर्‍याउनु पनि हिंसाकै श्रेणीमा पर्छ। 

संविधानको धारा २१ मा उल्लेख भएअनुसार परिवारमा कुनै पनि बालिका वा महिलामाथि पुरुषवर्ग वा महिलावर्गद्वारा गरिने कार्य पारिवारिक हिंसा मानिन्छ। जसमा महिला वा बालबालिकालाई जीवनयापन गर्न कठिनाइ भयो वा मानसिक वा शारीरिक रूपमा कुनै कष्ट दिइयो वा अमानवीय र अनैतिक आचरण गरियो भने पनि त्यसलाई हिंसा नै भनिन्छ। त्यस्तै राष्ट्रिय महिला आयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०६३ महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि कार्यान्वयनका लागि तयार गरिएको राष्ट्रिय कार्ययोजना, २०६० आदिले ऐन-कानुनको अभाव नभएको पुष्टि गर्छ। 

कानुनमा जे-जस्तो व्यवस्था भए पनि कार्यान्वयन नगर्ने प्रवृत्तिले गर्दा महिला हिंसाबाट पीडित भै मानसिक यातनाको सिकार हुने क्रममा भने अपेक्षाअनुरूप कमी आउन सकेको छैन। सामाजिक एवं सांस्कृतिक परिवर्तनका लागि प्रत्येक राज्यले आफ्नो स्तरबाट विभिन्न प्रयास गर्नुपर्छ। समाजमा विद्यमान पुराना मूल्य-मान्यता, परम्परा, कानुन, प्रथा, व्यवहार आदिलाई क्रमिक रूपमा परिवर्तन गर्दै नेपाली समाज तथा संस्कृति विकासको दिशातर्फ उन्मुख भएको पाइन्छ। 

दासप्रथा, सतीप्रथा, वेश्यावृत्तिमा नियन्त्रण, छुवाछूत मानवीय सभ्यताको विकाससँगै समाजमा महिलामाथि हुने अपहरण, बलात्कार र हत्याका घटनाको छानबिन तथा अपराधीमाथि कारबाही ठोस नभएका कारणले गर्दा नै यस्ता प्रकृतिका घटनाहरू हाम्रो समाजमा दोहोरिने गरेका छन्। नेपाली समाजका महिलाले परम्परादेखि नै निश्चित भूमिका र कर्तव्य निर्वाह गर्दै आएको पाइन्छ। नेपाली समाज पितृसत्तात्मक समाज हो जहाँ महिलाको तुलनामा पुरुषको भूमिका र स्थिति उच्च छ। 

हिन्दू वा आर्य समाजमा महिलाको भूमिका र स्थिति पनि त्यत्तिकै उच्च रहेको कुरा हाम्रा प्राचीन ग्रन्थ वेद, पुराण, रामायण, महाभारत आदिमा उल्लेख छ। यहाँ परम्परादेखि नै नारीलाई शक्ति तथा ममताकी खानी, सृष्टिकर्ता एवं देवीका रूपमा पूजाआजा गरिन्छ। हिन्दू परम्परा एवं संस्कृतिका प्रसिद्ध स्मृतिकार मनुले पनि नारीको महिमा गाउँदै भनेका छन्-जहाँ नारीको पूजा हुन्छ त्यहाँ देवताको वास हुन्छ। यद्यपि आज त्यो परम्परागत समीकरण उल्टो भएको छ। 

पुरुषहरू सांसारिक सफलता र महत्वाकांक्षाहरूको पूर्तिमा तल्लीन छन् र स्त्रीले आफ्नो नैसर्गिक गुणको कमजोरी महसुस गर्न थालेका छन्। समयको गतिसँगै महिलाहरू आत्मकेन्दि्रत हुँदै गएका छन्। एउटै छानामुनि बस्ने स्त्री-पुरुष एक-अर्काको पूरक हुनुको साटो प्रतिस्पर्धी देखिन थालेका छन्। यस्तो संवेदनहीन परिवेशमा हुर्किरहेका बालबालिकाको मनमस्तिष्कमा कस्तो असर पर्ला ? नारी:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com