भक्तपुर, जेष्ठ २९ ,
मकर श्रेष्ठ : यस वर्षको एसएलसीमा नियमिततर्फ ४१.५७ प्रतिशत विद्यार्थी पास भएका छन् । यो नतिजा पछिल्लो आठ वर्षकै कम हो भने गत वर्षभन्दा ५.५९ प्रतिशतले थोरै हो । गत वर्ष ४७.१७ प्रतिशत उत्तीर्ण भएका थिए ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार नियमिततर्फ ४ लाख ३९ हजार ३६ जनाले परीक्षा दिएकामा १ लाख ६७ हजार ९ सय ३५ पास भए । विशिष्ट श्रेणीमा १६ हजार ९ सय २४, प्रथम श्रेणीमा ७६ हजार १ सय ६५, दोस्रो श्रेणी ६९ हजार ८ सय ३० र तेस्रो श्रेणीमा ५ हजार १६ जना उत्तीर्ण भएका छन् ।
एक्जेम्टेडतर्फ ७.७६ प्रतिशत पास भएका छन् । त्यसमध्ये पहिलो श्रेणीमा १ सय १७, दोस्रोमा ५ हजार ८ सय ४८ र तेस्रोमा श्रेणीमा २ हजार ३ सय ५३ छन् ।
परीक्षा नियन्त्रक खगराज बरालका अनुसार यस वर्ष पनि पाँच नम्बर ग्रेस दिइएको छ । ग्रेस पाएर पास हुने विद्यार्थी १४ हजार छन् । चैत १ मा सुरु परीक्षाको नतिजा ८१ औं दिनमा सार्वजनिक भएको हो । यो वर्षको मौका परीक्षा साउन २० देखि हुनेछ । परीक्षा समितिका अध्यक्षसमेत रहेका शिक्षा सचिव सोमलाल सुवेदीले परीक्षा मर्यादित, प्रश्नपत्र पाठ्यक्रममा आधारित, ६२ जिल्लामा गृह केन्द्र हटाएको, विषयगत शिक्षकको कमीले उत्तीर्ण प्रतिशत विगतभन्दा घटेको बताए ।
उनले खस्किँदै गएको नतिजाबारे अध्ययन टोली गठन गरिने जनाए । बरालका अनुसार राम्रो परीक्षा सञ्चालन गर्ने केन्द्र तथा केन्द्राध्यक्षलाई पुरस्कृत गरिने छ । गृह केन्द्र नभएका ६२ जिल्ला परीक्षा केन्द्र र केन्द्राध्यक्षलाई प्रोत्साहन स्वरूप पुरस्कार दिने निर्णय भएको छ । यसमा एक जिल्लामा एक परीक्षा केन्द्रलाई १५ हजार र एक केन्द्राध्यक्षलाई १० हजार रुपैयाँ दिइनेछ ।
परीक्षा सञ्चालनमा मर्यादाविपरीत काम गर्ने २ सय ५ निरीक्षक र ४ सय २८ परीक्षार्थी कारबाहीमा परेका छन् । त्यसमा ३ सय १ जना परीक्षार्थीको एक विषय रद्द, ४ जनाको दुई विषय, १ सय २३ जनाको सबै विषय रद्द भएको छ भने ७ जनालाई अर्को वर्ष पनि परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही गरिएको छ ।
नतिजा पाउन सहज प्रविधिको प्रयोग सँगै नतिजा पाउन सहज भएपछि नियन्त्रण कार्यालय धाउनेहरू यो वर्ष खासै देखिएनन् ।
मोबाइलमा एसएमएस गरेर, वेबसाइटबाट प्राप्तांकसमेत हेर्न सकिने व्यवस्थाका कारण यसपालि धेरैको सहज पहुँच भयो । यस वर्षदेखि पत्रिकामा नतिजा प्रकाशन गर्न बन्द गरिएको छ । घरबाटै नतिजा पाउने भएपछि परीक्षा नियन्त्रण कार्यालय बाहिर सुनसान थियो । बिहानैदेखि नतिजा सार्वजनिक गर्ने हल्लाले सञ्चारकर्मीको भने भीड थियो ।
पत्रकार सम्मेलनअघि सामाजिक सञ्जालमा नतिजा आएको थियो । कलेज सञ्चालक र परीक्षा नियन्त्रण कार्यालयका कर्मचारीको चिनजानका व्यक्तिलाई पेनड्राइभ र सिडीमा राखेर नतिजा वितरण गरिएका थिए । सम्मेलन अघि नै वितरण भएको भन्दै सञ्चारकर्मीले विरोध गरेपछि एक साताभित्र छानबिन हुने शिक्षा सचिव सुवेदीले बताए ।