नयाँदिल्ली जेष्ठ २९ ,
भारतका वरिष्ठ कंग्रेस नेता एवं पूर्वकेन्द्रीय मन्त्री विद्याचरण शुक्लाको मंगलबार ८३ वर्षको उमेरमा निधन भएको छ । छत्तीसगढ राज्यमा गत २५ मेमा भएको माओवादी आक्रमणमा उनलाई तीन गोली लागेको थियो ।
यो घटनामा छत्तीसगढ कंग्रेसका प्रमुख नन्दकुमार पटेल, उनको छोरा दिनेश र स्थानीय नेता महेन्द्र कर्मालगायत २७ जनाको ज्यान गएको थियो ।
राजधानी नयाँदिल्ली नजिकैको गुडगावस्थित मेदान्ता मेडिसिटी अस्पताल उपचार भइरहेको उनको दुईपटकको शल्यक्रियापछि पनि ज्यान जोगिएन ।
गोलीको घाउ र वृद्धावस्थाले उनको अंगहरूले एकपछि अर्को काम गर्न छाडेको थियो । उनको सोमबार राति मृगौलाले काम गर्न छाडेको थियो । प्रधानमन्त्री मनमोहन सिंह, पार्टी अध्यक्ष सोनिया गान्धी र भारतीय राजनीतिका नयाँ शक्ति बनेका गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदीले शुक्लाको निधनप्रति गहिरो दुःख प्रकट गरेका छन् ।
९ पटक सांसद बनेका शुक्लाको निधनमा छत्तीसगढमा तीन दिने राजकीय शोकको घोषणा गरिएको छ ।
उनी सन् १९५७ मा पहिलोपटक कंग्रेसका तर्फबाट संसदम्ा निर्वाचित भएका थिए । उनले कंग्रेस सरकारमा विदेश, गृह, रक्षा तथा अर्थमन्त्रीको पदभार सम्हालेका थिए । सन् १९७५ देखि १९७७ मा प्रधानमन्त्री इन्दिरा गान्धीले आपत्काल घोषणा गर्दा उनी सूचना मन्त्री थिए । त्यतिबेला विपक्षी राजनीतिज्ञहरूलाई कारागारमा राखिएको थियो । आमसञ्चारमाथि सेन्सर लागू भएको थियो ।
उनले गान्धी र उनको पुत्र सञ्जयसँगको गठबन्धनमा भारतीय सञ्चारमाध्यममाथि 'सेन्सरसिप' लगाएर अलोकपि्रय बनेका थिए ।
पार्टीको मुखपत्र र सरकारले पालेको खल्तीका पत्रकारहरूबाहेक सञ्चारको आउने पुस्ताले पनि उक्त कदमलाई बिर्साउन सकेन । संकटकालमा भएको ज्यादतीबारे शाह कमिसन पनि बसेको थियो, जसले उनलाई 'क्लिन' चिट दिएन । उमेरले ८० कटे पनि उनी राजनीतिमा युवा नेताझैं सक्रिय थिए । उनको अझैं एकपटक निर्वाचनमा खडा हुने धोको थियो । उनी अन्तिमपटक कंग्रेसको परिवर्तन यात्रामा भाग लिन जाँदा आक्रमणमा परेका थिए ।
विभिन्न विवादबीच उनी केन्द्र र राज्य दुवैका राजनीतिमा बरोबर सक्रिय रहे । शुक्ला आक्रमक राजनीतिज्ञ मानिन्थे । कुलीन वर्गको सेवा गरेर प्रजातन्त्रको गफ छाट्ने उनी कंगे्रस नीतिको खुलेर आलोचना पनि गर्थे ।
उनी पटकपटक अरु दलमा गए पनि फेरि फर्केर कंग्रेसमा आए । केन्द्रीय र पूर्वी भारतमा झन्डै चार दशकदेखि 'नक्सलवादी' को नामबाट माओवादी विद्रोही सक्रिय छन् । उनीहरूले हालेको आक्रमण सरकारको जनविरोधी नीतिको जवाफ भएको बताएका छन् । उनीहरूले केन्द्र सरकारलाई प्रजातन्त्रको खोल ओढेर जनविरोधी र विभेदपूर्ण गतिविधिमा लागेको आरोप लागेको छ । उनीहरू आफ्नो राज्यमा केन्द्र सत्ताको उपस्थितिलाई स्वीकार्दैनन् । उनीहरू आफ्नो माटोमा पूर्णतः स्थानीयबासीको प्रभुत्व र शासन चाहन्छन् ।(एजेन्सीहरू)