दार्चुला असार ११,
बिक्रम गिरि : अस्पतालमा शऒ्ढया छैनन्, बाटा सबै अवरुद्ध छन्। प्रश्रव पीडामा छट्पटिएकाहरूको दृश्य हेर्नै नसकिने छ। उपचारका लागि खलंगा आउन नसक्दा बिरामीको बेहाल छ।
साताअघि बाढीको विपत्ति झेलेका दार्चुलाबासीको दैनिकी यसरी नै गुजि्ररहेको छ। बाढीले जिल्ला अस्पताल भवनसमेत बगाएपछि यहाँ आइपुगेका बिरामीसमेत बिचल्लीमा परेका छन्।
प्राकृतिक प्रकोपसँग स्वास्थ्य सेवा प्रभावकारी नबनाइँदा एक सातासम्म प्राथमिक स्वास्थ्य सेवा पाउन स्थानीयलाई हम्मेहम्मे परेको छ।
दैनिक ३०–४० बिरामी भर्ना हुने अस्पतालले अहिले सडक र बाँकी रहेका स्थानीयको घरबाट सेवा दिने प्रयास गरेको छ।
डाक्टर, स्टाफ नर्स र अहेबले प्रसूतिलाई पहिलो प्राथमिकता दिएका छन्। जसोतसो सातामा ८ जनालाई प्रसूति सेवा दिएको जिल्ला अस्पतालका डाक्टर रामेश्वर देवकोटाले बताए। 'यो जटिल परिस्थितिमा समेत ८ जनालाई प्रसूति सेवा दिएका छौं,' अस्पतालकी स्टाफ नर्स निलम महराले भनिन्।
सडक भत्किएकाले बिरामी उपचार गराउन खलंगा आउन सकेका छैनन्। आएकाले पनि राम्रो सेवा पाएका छैनन्। 'स्टेचरमा बोक्नुको विकल्प छैन,' महराले भनिन्, 'स्टेचर नपाउनेले बुइँ चढाएर बिरामी ल्याउने गरेका छन्।'
बाटो अवरुद्ध हुँदा स्थानीय उपचारका लागि भारतसमेत जान पाएका छैनन्।
खुट्टामा गम्भीर चोट लागेर १४ दिनअघि अस्पताल भर्ना भएका ब्रह्मदेव–२ का डबलराम लोहार खुला ठाउँमा उपचार गराइरहेका छन्। 'राति किराफट्याङ्ग्रा आउँछ,' उनले भने, 'बत्ती नहुँदा राम्ररी सुत्न नपाएको एक साता भयो।'
विभागसँग चिकित्सक टोली र औषधी माग गरिएको छ। केही औषधी उपलब्ध आएको छ। तर जनशक्ति अभावमा त्यसको सीधा असर उपचार सेवामा परेको छ। 'समयमै चिकित्सक टोली नआए भयावह स्थिति आउन सक्छ,' डा. देवकोटाले भने। विभागबाट पठाएका केही उपकरण धनगढी विमानस्थलमै अड्किएको छ।
बाढीले अस्पताल भवन बगायो। बाँकी भवन पनि बग्ने अवस्थामा छन्।
बचाउन सकेका उपकरण सडकमा यत्रतत्र छरिएका छन्। अस्थायी अस्पताल कहा“ राख्ने खाली ठाउँ छैन। अस्पताल राख्ने ठाउँ नपाउँदा बिरामीले सेवा पाउन सकेका छैनन्।
केही बिरामीलाई स्थानीय लोकमणि ठगुन्नाको निर्माणाधीन घरमा राखिएको छ। औषधी, उपकरण र शौचालयको अभाव छ। बाढी आउनुअघि भर्ना भएका बिरामीलाई त्यहाँ राखिएको छ। बिरामी भर्ना गरी उपचार गर्ने अवस्था छैन। आकस्मिक सेवा मात्र दिइएको छ। केही कोठामा सामान थन्क्याइएको छ। दुई कोठामा बिरामी। गम्भीर प्रकृतिका बिरामीलाई रिफर गर्नुबाहेक विकल्प नरहेको डा. देवकोटाले बताए।
जेनतेन स्वास्थ्यकर्मीले आफ्नै पहलमा दार्चुला–बैतडी सड्क खण्डको निर्माणाधीन घरमा आकस्मिक सेवा सञ्चालन गरिएको छ।
'ठाउँ अभावले केही दिन बिरामीलाई सेवा दिन सकिएन,' देवकोटाले भने, 'उपकरण बग्दा उपचार प्रभावित भएको छ।' स्थानीय डुङरी खोलाबाट उत्पादित दुईसय ५० वाट क्षमताको बिजुली अवरुद्ध छ। बिजुली अवरुद्ध हुँदा एक्सरे र ल्याब सेवा सञ्चालन हुन सकेको छैन।
अस्पतालका चिकित्सक टोलीलाई दुई दिन आफ्नै ज्यान जोगाउन मुस्किल परेको थियो। बग्दै गरेका भवनबाट केही उपकरण उनीहरूले बचाए। हेर्दाहेर्दै अस्पतालको भवन बगाउँदाको त्रासमय वातावरण सम्झँदै देवकोटाले भने– 'दुई दिन आफ्नै ज्यान जोगाउन लाग्यौं। अहिले होस ठेगानमा आएको छ।'
बग्न लागेका उपकरण सेनाको ब्यारेक, शिक्षा र खानेपानी कार्यालयमा राखेको मात्र थाहा भएको उनले बताए। बिरामी राख्ने 'बेड' सातादेखि सड्कमै जथाभावी छ। केही बेड बग्दै गरेको भवन वरपर छन्। औषधी र कागजात राख्ने दराज पनि बीच सड्कमै देखियो।
कर्मचारी बास बस्ने ठेगाना खोज्नमै दौडधूप गरिरहेका भेटिए।
'सदरमुकामका सबैजसो घर भरिभराउ छन्,' सिनियर अहेब वीरहरि राईले भने। बाढीले घर बगाएपछि उनी आफंै विस्थापित छन्। विभिन्न ठाउँमा राखिएका सामान बोक्नमै कर्मचारीलाई फुर्सद छैन्। ती ओसारिएका सामान कहाँ राख्ने अर्को समस्या भएको राईले सुनाए।
अस्पताल सञ्चालन गरिएको ठाउँमा असुरक्षा भएको गुनासो स्वास्थ्यकर्मीको छ। प्रहरी नायब उपरीक्षक कुवेर कडायत भने अस्पताल सञ्चालन गर्न सुरक्षाकर्मी चौबीसै घन्टा उपलब्ध गराएको बताउँछन्।
अस्थायी तटबन्ध निर्माण सुरु भएन
सडक खुलाउन आउनुपर्ने सडक कार्यालयका कर्मचारी विभागको अख्तियारी कुरेर बसेका छन्
महाकाली नदीको बाढीले बितन्डा मच्चाएको ८ दिन बित्दा पनि अस्थायी तटबन्ध निर्माण सुरु हुन सकेको छैन।
तटबन्धको काम सुरु नहुँदा नदी किनारका स्थानीय त्रासमा छन्। बाढी विस्थापितहरू अस्थायी बसोबास खोजिरहेका छन्। बाढीले च्याप्दै आएकाले बाँकी घरधनी पनि चिन्तामा रात काटिरहेका छन्।
सदरमुकाम खलंगामा तटबन्धका लागि तार, जाली र ढुंगासमेत अभाव छ। प्राविधिकहरूको टोली जिल्लामा आइपुगे पनि सामग्री अभावले अस्थायी तटबन्ध निर्माण अघि बढ्न सकेको छैन। प्रविधिकहरू दर्शक मात्र भएका छन्।
तटबन्ध बनाउन धनगढीबाट मगाइएको पाँच टन ग्याबिन तार, ४० हजार रित्ता बोरा, ५० किलो नाइलन जाली बाटोमै अलपत्र छ। 'बाटोघाटोको असुविधाले निर्माण सामग्री खलंगा पुग्न सकेको छैन,' जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय धनगढीका डिभिजन प्रमुख महेन्द्रप्रसाद बडूले भने, 'सडक अवरुद्ध छ। भरिया लगाएर ढुवानी गर्न सम्भव छैन।'
खलंगादेखि ५३ किलोमिटर टाढाको शंकरपुरमा निर्माण सामग्री थन्किएको छ। शंकरपुर–थकतोली सडक खण्ड अवरुद्ध छ। सडक खुलाउने पहल हुन भएको छैन। सडक कार्यालयका कर्मचारी विभागको अख्तियारी कुरेर बसेका छन्। 'हामीले मर्मतसम्भारका लागि अख्तियारी पाएका छैनौं,' दार्चुला–बैतडी सडक कार्यालयका एक कर्मचारीले भने, 'पुनर्निर्माण थाल्न स्रोतसाधनसमेत अभाव छ।'
प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी अधिकारी भने जतिसक्दो चाँडो सडक खुलाउन पहल भइरहेको बताउँछन्। 'एकदुईदिनभित्रै सडक विभागका महानिर्देशक र मन्त्रालयका सचिवसहितको टोली खलंगा आउँदै छ,' उनले भने।
थकतोलीको बाटो केही दिनपछि सुचारु भए पनि खलंगादेखि १४ किलोमिटर टाढाको दत्तुमा सडक खुलाउन महिनौं लाग्ने देखिन्छ। यो खण्डमा नौ ठाउँमा सडक बगाएको छ।
दत्तुदेखि निर्माण सामग्री ढुवानी गर्न भरियाको भर पर्नुपर्छ। भरिया पाइएका छैनन्। 'धेरैजसो स्थानीय यार्सागुम्बा संकलनमा गएका रहेछन्,' बडूले भने, 'खच्चर प्रयोग गर्न बाटोघाटो भरपर्दो छैन।' बाटोमा थन्किएको सामग्री खलंगा पुग्न सके थप १० टन ग्याबिन तार मगाउन मिल्ने उनले सुनाए।
६ दिनअघि खलंगा आइपुगेका डिभिजन प्रमुख बडू, इन्जिनियर विष्णुहरि अधिकारीलगायतको टोली अस्थायी तटबन्ध सम्भव भएको ठाउँ पत्ता लगाउन खटिएको छ। 'केही ठाउँमा तत्काल रोकथाम जरुरी छ,' इन्जिनियर अधिकारीले भने, 'लगातार कटानी भइरहेको छ।
थप घर बग्ने खतरा छ।' ढुवानी असुुविधा देखेरै प्राविधिक टोलीले हेलिकप्टरमा ढुवानीका लागि विभिन्न निकाय गुहारिरहेको छ।
सरकारी स्तरबाट काम थाल्ने छाँट नदेखेपछि नदी किनार घर भएकाहरू आफैं अस्थायी तटबन्ध बनाउन जुटेका छन्। 'काम थाल्दासम्म त घर बगी सक्छ,' खलंगा–५ का हंशराज भट्टले भने, 'सरकारको मुख ताक्दा यो हालत भयो। जति सकिन्छ आफैं गर्छौं।' बाढी आएदेखि रातभर जाग्राम बस्ने गरेको उनले सुनाए।