घरेलु हिंसाविरुद्ध जागरुक हुँदैछन् मुस्लिम तथा मधेसी महिला I

नेपालगन्ज, २४ जेठ ,

बर्षौं देखि आफ्नो पतिको शारीरिक र मानसिक शोषण चुपचाप सहँदै चुईक्क नबोल्ने बाँके जिल्लाका घरेलु हिंसापीडित मुस्लिम तथा मधेसी समुदायका महिला अहिले त्यसविरुद्ध जागरुक मात्र नभई सङ्गठितसमेत हुँदै गएका छन् । ‘मेरो विवाह १२ वर्षको उमेरमा भएको हो, १४ वर्ष पुगेपछि पतिको घरमा आएदेखि मैले दिनरात पिटाई खानुपरेको थियो, सामाजिक संस्थाले गाँउमा घरेलु हिंसाविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरेपछि अहिले म त्यसका विरुद्ध सङ्गठित भएकी हुँ’—इन्द्रपुर गाविस—६ बङ्जारेगाँउकी– २८ वर्षीया मुस्लिम आमना बागवानको दह्रो भनाइ थियो । 

आमना मात्र नभई अहिले त्यस गाँउका सयौँ मुस्लिम तथा मधेसी समुदायका महिलाहरू घरेलु हिंसाविरुद्ध जुर्मुराएका मात्र छैनन्, गाँउमा कसैले महिलामाथि हिंसा गर्ने प्रयास ग¥यो भने उनीहरू त्यसका विरुद्ध माहुरीको गोला छैन खनिने समेत गरेका छन् । ‘यो परिवर्तन हामीमा त्यसै आएको होइन, महिला अधिकारका क्षेत्रमा क्रियाशील फातिमा फाउन्डेसन संस्थाले गाँउमा घरेलु हिंसाविरुद्ध कार्यक्रम सञ्चालन गरेपछि यहाँका घरेलु हिंसापीडित महिलामा अहिले अधिकारको लडाइँ लड्नुपर्छ भन्ने जागरण पलाएको हो’— अर्की घरेलु हिंसापीडित मधेसी समुदायकी महिला रमावती कुर्मीको भनाइ थियो । 

रमावतीलाई उनका पतिले मात्र नभई सबै घरपरिवारले अहिले घरमा प्रवेश गर्न दिएका छैनन् । उनी अहिले आफ्नै माइती घरमा बस्छिन् र अन्य महिलासँग घरेलु हिंसाविरुद्ध सङ्गठित भएर आफ्नो र अरूको अधिकारको लडाइँसमेत लडिरहेकी छन् । फातिमा फाउन्डेसनले इन्द्रपुर गाविसमा अहिले विशेषतः घरेलु हिंसापीडित मधेसी तथा मुस्लिम समुदायका महिलालाई समेटेर उनीहरूमा जागरण ल्याउने प्रयास गरिरहेको छ भने त्यस्ता महिलाहरूको आर्थिक विकासमा टेवा पु¥याउन रोजगारीमूलक व्यवसायमा समेत सहभागी बनाउँदै लगेको छ । 

फाउन्डेसनले ती महिलाका लागि सिलाइकटाई तालिम, महिला समूह कोष निर्माण र सहकार्यमूलक नेतृत्व र संवाद, अनौपचारिक शिक्षालगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । सो गाँउका घरेलु हिंसापीडित महिला नसिबुँल जँहा, जन्नतुल बेहना, गरिबा पठानलगायत ५० जना महिलाले समूह बचत कोष खडा गरी पालैपालो कोषबाट समूह सदस्यलाई ऋण लगानीसमेत गर्दै आएका छन् । हिंसापीडित महिलामा आएको जागरणले त्यस गाँउका पुरुषहरूमा पनि महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ । 

‘आफ्नो पत्नीलाई मैले धैरे पिटे, शोषण गरे तर, फाउन्डेसनले सहकार्यमूलक संवादमा पुरुषलाई पनि सहभागी बनाएपछि महिलाको अधिकार, उनीहरूको भूमिका र महत्वलाई बुझेपछि मेरो र मेरी श्रीमती आमनाको सम्बन्ध अहिले धेरै राम्रो छ’— बारिसअलि बागवानको भनाइ थियो । अहिले सो गाँउमा फाउन्डेसनले त्यहाँका महिलालाई महिला अधिकार, कानुनी उपचारको व्यवस्था, परामर्श, अधिकार तथा कर्तव्य बोधका विषयमा तालिम तथा अभिमुखीकरणसमेत गर्दै आएको छ । 

‘मधेसी तथा मुस्लिम समुदायमा बालविवाहको प्रचलनले जरो गाडेकाले घरेलु हिंसाको एउटा प्रमुख कारण बालविवाह पनि हो । इन्द्रपुर गाविसका प्रायः घरेलु हिंसापीडित महिलाको १० देखि १४ वर्ष उमेरभित्र बालविवाह भएको पाइन्छ, यदि हामीले बालविवाह गर्न हुन्न भन्ने चेतना सो समुदायका परिवारमा जागृत गर्न सक्यो भने मात्र पनि घरेलु हिंसामा कमी आँउछ’— सामाजिक परिचालिका शाहिदा शाहको अनुभव छ । रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com