देवेन्द्र सबाहाम्फे : दिलशोभा श्रेष्ठ 'आमाघर' की संस्थापक हुन। पिता हर्षनारायण गोपालीबाट गरिब, दीन-दुःखीहरूको सेवा गर्नुपर्छ भन्ने प्रेरणा पाएकी दिलशोभाले श्रीमान् पुष्करलाल श्रेष्ठबाट धोका र हन्डर खाएकी थ्ािइन्। श्रीमान्कै तिरस्कारपछि बेवारिसे आमाहरूको सुश्रूषामा लागेकी श्रेष्ठ नामजस्तै दिलदार छिन्। कथित सम्भ्रान्त समाजको अवहेलनाका कारण दुई पटक विष पिउने निर्णयमा पुगेकी श्रेष्ठ अहिले समाजसेवाकी विम्ब बनेकी छिन्।
उनलाई हालै दक्षिण कोरियामा रहेका नेपालीहरूले सहयोग एवं सम्मान गरेका छन्। सोल र किम्हेमा गरिएको सहयोग र सम्मान लिँदै श्रेष्ठले समाजसेवाका लागि धनभन्दा मन ठूलो हुने कुरा बताइन्। 'आमाघर' सञ्चालनका लागि आफूले दिनुस् भनेर कसैसँग नमागेको प्रसङ्ग उठाउँदै दाताहरूको सहयोगमा वृद्धवृद्धा तथा द्वन्द्वपीडित बालबालिकाको सेवा गर्न पाइरहेको बताइन्।
विगतमा आफूले पाएको दुःख सुनाउँदा कार्यक्रममा उपस्थितहरू भावविह्वल भएका थिए। उनले 'मरेपछिको श्राद्धभन्दा जीवित अवस्थाको श्रद्धा' उचित हुने भएकाले परदेशमा रहेर पनि आमाबुबालाई श्रद्धा गर्न आग्रह गरेकी थ्ािइन्। कुनै पनि बूढापाका एवं बालबालिकाले सडकमा अलपत्र हुनु नपरोस् भन्ने आफ्नो उद्देश्य भएको बताउँदै श्रेष्ठले बाँकी जीवन अरूकै लागि बाँच्ने प्रण गरेकी थिइन्। यसै सन्दर्भमा उनले भोगेको विगत, वर्तमान र भविष्यका योजनाहरूका बारेमा साप्ताहिकका लागि देवेन्द्र सम्बाहाम्फेले गरेको कुराकानी :-
कोरियामा स्ाम्मान र सहयोग पाउनुभएको छ, कस्तो लागिरहेको छ ?
धेरै खुसी लागिरहेको छ। सात समुन्द्रपारि आएर श्रम गरेको पैसा कटाएर 'आमाघर' लाई सहयोग तथा मलाई दुई ठाउँमा सम्म्ाान गर्नुभएको छ। म धेरै खुसी छु।
ँआमाघर’ मा आमाहरू कति हुनुहुन्छ ?
आमाहरू ४० जना र बुवाहरू ५ जना। बुवाहरूलाई नयाँ आश्रम खोलेर छुट्टै राखेका छौं।
उहाँहरू कति उमेरको हुनुहुन्छ ?
५५ देखि ९७-९८ वर्षसम्मको हुनुहुन्छ। केही दिन अघिसम्म १ सय ३ वर्षको पनि हुनुहुन्थ्यो तर बित्नुभो।
कस्तालाई प्रथमिकता दिनुहुन्छ ?
यस्तोलाई राख्ने उस्तोलाई नराख्ने भन्ने नियम छैन। सडकमा छोडिएका, अलपत्र परेका आमा-बुबा सबैलाई राख्ने गरेका छौं। यहाँ बस्न नाम दर्ता, परिचयपत्र, नागरिकता आदि आवश्यक छैन।
बालबालिका नि ?
बालबालिका पनि धेरै छन्। ५० जना त म सँगै खान्छन्, सुत्छन्। अरू पाँच जना सुस्त मनस्थितिका छन्। उनीहरूलाई छुट्टै विद्यालयमा राखेकी छु।
द्वन्द्वपीडित भन्नुभएको छ, उनीहरूचाहिँ कसरी आइपुगे ?
चार-पाँच वर्षअघि बीबीसीको साझा सवाल कार्यक्रम टोलीसँग म जुम्ला गएकी थिएँ। शनिबारको दिन थियो, साझा सवालको टोली हिमाल हेर्न थाले। मचाहिँ त्यहाँ रहेकी मेरी छोरीकी साथीसँग स्थानीय चर्च गएँ। उक्त चर्चमा असक्त असहाय, खान-लाउन नपाएका भोका नाङ्गा बच्चाहरू पनि आएका रहेछन्। उनीहरूको स्थिति देखेर मनै थाम्न सकिनँ। गाउँ र जिल्लाबाट कागजपत्र मिलाएर सबैलाई लिएर आएँ। सँगै रहेकी नानीले हुम्ला र कणर्ालीमा यस्ता बालबालिका अझ धेरै भएको जानकारी दिएपछि त्यस्ता बालबालिका बटुलेर म कहाँ पठाइदिन अनुरोध गरें। उहाँले दुःखमा परेका सबैलाई पठाइदिनुभयो। त्यसमा द्वन्द्वका बेला गोली लागेका, हातखुट्टा नभएका बालबालिकाहरू पनि छन्। उनीहरूलाई आफंैले प्रत्यक्ष हेरचाह गरिरहेकी छु।
ँआमाघर’ को सुरुवात कसरी गर्नुभएको थियो ?
छोरा नपाएकाले श्रीमान्ले ०४८ सालमा घर छोड्नुभयो। त्यतिबेला म ३८ वर्षकी थिएँ, छोरी १८ वर्ष पुगेकी थ्ािइन्। उहाँले घर छोडेको दिन एसएलसीको परीक्षाफल प्रकाशित भएको थियो। छोरीले परीक्षा राम्रोसँग पास गरेकी थिइन्। त्यहि दिन उहाँले हामीलाई छोडेर जानुभयो। हामीले छोरीलाई कन्यादान दिन भनेर ५ लाख रुपैयाँ जम्मा गरेका थियौं। उक्त रकम लिएर उहाँले अर्को विवाह गर्नुभएछ । उहाँले घर छोडेपछि हामीलाई धेरै दुःख भयो। हाम्रो दुःख-पीडामा मल्हम लगाइदिने कोही नभएपछि संसारमा हामीले नितान्त एक्लो महसुस गर्यौं र एक दिन विष खाएर मर्ने निधो गर्यौं। दुई बोतल मेटासिट किनेर ल्याएपछि हामीले पत्र लेख्यौं र पालैपालो पियौं, तर हामी मरेनौं। हामीले विष पिएको हल्ला जताततै फैलियो। यसरी समाजमा कुरा फैलिएपछि फेरि हामीलाई बाँच्न मन लागेन। दोस्रो पटक विष पिउनुअघि हामीले लामो पत्र लेख्यौं अनि अन्तिम प्रार्थना गर्न बस्यौं। प्रार्थना गरिरहेकै बेला छोरीलाई प्रभुबाट 'तिमीहरू मर्नु हुँदैन, अनाथ, अशक्त र दुःखीहरूका लागि बाँच्नुपर्छ' भनेर आकाशवाणी भयो रे। छोरीको कुरा सुनेर दीन दुःखीहरूको सेवा गर्ने प्रण गर्दै औषधि फाल्यौं।
त्यसपछि मैले सिलाइबुनाइ, साबुन, मैनबत्ती, दालमोठ बनाउने इलम सुरु गरें। त्यसमा लोग्ने मरेका, लोग्नेले छोडेका ५०-६० जना महिलालाई खोजी-खोजी काम दिएँ। ०५२ सालमा छोरीको विवाह भएपछि म फेरि एक्लो भएँ। त्यही बेला एक जना साथीले तिमी रोएरै मर्ने भयौ छोरैछोरा भएको घरमा हिँड भनिन्, अनि हामीसँगै चारजना छोराकी आमा भएको ठाउँमा पुग्यौं। उनी सुन तथा गाडी व्यापारीकी आमा थिइन्। ती आमाको बिजोग देखेर म झन रोएँ। छोरा भए पनि यस्तो दुःख हुने रहेछ प्रभु, म यही आमालाई स्याहार गर्छु भनेर प्रण गरें। दुई वर्षसम्म ती आमाका लागि खाना बनाइदिएँ, दिनहुँ नुहाइदिएँ, तेल लगाइदिएँ र रमाइलो कुरा गरिदिएँ। त्यसपछि उहाँ त तङ्गि्रएर आफैंं हिँडडुल गर्न थाल्नुभो। त्यतिबेला मलाई बुढेस कालमा खाँचो भनेको न्यानो माया, तातो श्रद्धा रहेछ भन्ने लाग्यो। ती आमा तन्दुरुस्त भएपछि विष्णुमती किनारमा रहेका पाँच जना बेवारिसे आमालाई घरमा लगेर पाल्न थालें। त्यसरी नै आमाघरको सुरुवात भयो।
श्रीमान्सँग कसरी भेट भएको थियो ?
उहाँ बसको कन्डक्टर हुनुहुन्थ्यो। हाम्रो घर र होटल बस्ा स्टपकै छेउमा थियो। हेर्दा कुनै खानदानी मानिसझैं लाग्थ्यो। त्यही भ्रममा हाम्रो भेट र प्रेम भएको थियो।
विवाह कसरी भयो त ?
हाम्रो प्रेम चलिरहेको थियो। म जेठी छोरी भएकाले मलाई माग्न आउनु भने, तर घरमा मान्नुभएन। म मामाघरमा रहेका बेला चलचित्र हेर्न्ा जाउ“m भनेर जर्बजस्ती भगाउनुभयो। उहाँले दुई-तीनवटा घर छ भन्नुभएको थियो। उहाँको त केही रहेनछ। पाटीमा बस्नुहँुदो रहेछ। उहाँ केही नभएको सुकुलगुन्डा हुनुहुन्थ्यो।
अनि त्यसपछिको जीवन कसरी चल्यो त ?
त्यही पाटीमा छोरा जन्मियो, तर खानै नपाएर मर्यो। त्यो क्षण म सम्झनै सक्दिनँ। छोरा मरेपछि कहिल्यै फर्किन्न भनेर माइत गएँ, तर श्रीमान् दिनहुँ धाउन थाल्नुभयो अनि मैले एउटा सर्त राखें, उसो भए काम गर, कोठा लेऊ, सामान जोड, त्यसपछि आउँछु भनंे। केही दिनमा सबै सामान तयार गरें भन्दै आउनु भयो तर फेरि ढाँट्नुभो। ती सबै सामान त घरबेटीको पो रहेछ। केही महिनापछि हामी बसेको घर बिक्री भयो। हाम्रो बास फेरि सडकमा पुग्यो। त्यसपछि मैले आमासँग पैसा लिएर घरजम सुरु गरेँ। छोरी जन्मिएपछि भने सबै राम्रो हुँदै गयो।
श्रीमान्ले दोस्रो विवाह गरेको कसरी थाहा पाउनुभयो ?
छोरीले एसएलसी पास गरेकै दिन उहाँले घर छोड्नुभएको थियो। उहाँ त्यतिबेला एउटा मोटर कम्पनीमा काम गर्नुहुन्थ्यो। घर छोड्ने बेलामा मेरो सरुवा मेलम्चीमा भयो भन्दै जानुभएको थियो। उहाँ कहिलेकाहीं मात्र आउनुहुन्थ्यो। आउदा ड्राइभर-ड्राइभर मिलेर बसेका छौं, सामान चाहियो भन्दै मेरी आमाले दाइजो दिनुभएको राइस्ा कुकर, टेलिभिजन, फ्यान, रेडियो, थाल-कचौरा सबै लानुभयो। त्यसपछि भने आउनु नै भएन। त्यति बेलै कान्छी श्रीमती ल्याइसक्नुभएको रहेछ। त्यति हुँदाहँुदै छोरीको बिहे गर्ने बेला भयो। उहाँकै नामबाट कार्ड छाप्यौं र विवाहको सबै तयारी गर्यौं। अन्तिम समयसम्म पनि उहाँ आउनुहुन्छ कि भनेर बाटो हेर्यौं, तर उहाँ आउनुभएन। छोरीले कार्ड दिन जाँदा सुत्केरी स्याहार्दै हुनुहुँदो रहेछ तर पनि मलाई विश्वास लागेको थिएन ।
कहिले विश्वास गर्नुभो त ?
छोरीले पहिल्यै शंका गरेकी थिइन्, तर मलाई विश्वास थिएन। ०५५ सालमा म घरमै बसिरहेका बेला हुलाकीले पुष्करको चिठ्ठी आयो भन्दै दियो। मेरो श्रीमान्ले पत्र पठाएको भनेर म हर्षले गद्गद भएँ। त्यो त सौता -म) तथा श्रीमान्ले कुटपिट गरेर घर निकाला गरेकाले माना अंश दिलाइभराइ पाऊँ भनेर कान्छीले मुद्दा हालेको पत्र पो रहेछ। उक्त पत्र पाएपछि मात्र कान्छी ल्याएको विश्वास भयो।
मुद्दा हेर्न कसले सहयोग गर्यो ?
०५४ सालतिर हुनुपर्छ, नेतृ साहना प्रधानले मलाई जनकपुरमा सम्पन्न अनेमसंघको अधिवेशनमा पर्यवेक्षकका रूपमा लानुभएको थियो। त्यहाँ महिला हकअधिकारका बारेमा वकिल गीता सङ्ग्रौलाले प्रशिक्षण दिँदै केही समस्या भए खबर गर्नु भन्नुभएको थियो। मैले उहाँको नम्बर राखेकी थिएँ। अदालतको पत्र आएपछि गीताजीसँग सहयोग मागें। उहाँले हनुमानढोकामा गएर एसपी ग्ाीता उप्रेतीसँग भेट्न भन्नुभयो। डराउँदै हनुमान ढोकामा गएर सबै विवरण सुनाए। अदालतमा दिएको मुद्दामा उल्लेख भएको ठेगानाका आधारमा एसपी उप्रेतीले दुवैलाई पक्रेर ल्याएपछि मलाई बोलाउनुभयो। श्रीमान्ले मलाई कतिसम्म ढाँट्नुभो भने उहाँ मेलम्चीमा होइन कान्छीसँग चमती टोलमा बस्नुहँुदो रहेछ। एसपी साबले 'किन बहुविवाह गरेको ?' भनेर लठ्ठीले चिउँडोमा घोच्दै सोध्नुभो, त्यसको उत्तरमा श्रीमान्ले 'जेठीले माया नगरेकाले कान्छी ल्याएँ' भन्नुभयो। मैले रिस थाम्न सकिनँ र चार-पाँच थप्पड हानें।
बहुविवाह गरेको अभियोगमा दुवैलाई ३५ दिन थुना र ७ हजार ५ सयको दरले जरिवाना भयो भने मुद्दा पनि चलिरह्यो। उक्त मुद्दामा मैले निकै दुःख पाएँ। त्यसरी चलेको मुद्दा पुनरावेदनसम्म पुगेपछि मैले जितें।
अहिले आएर श्रीमान्लाई के भन्न चाहनुहुन्छ ?
उहाँले पटक-पटक धोका दिनुभयो, तर पनि दुःख पाएर स्याहार्ने कोही भएन भने म स्याहार्न तयार छु। उहाँ मेरी छोरीको बाबा हो। उहाँले नछोडेको भए, धोका नदिएको भए म सबैकी आमा दिलशोभा नबन्न सक्थें।
नेपाली समाजमा छोरा नपाएका आमाहरू अझै पनि हेपिन्छन् नि ? त्यस्ता श्रीमान्हरूलाई के भ्ान्न चाहनुहुन्छ ?
छोराछोरी समान हुन्। उनीहरूलाई भेदभाव गर्नु भएन। भेदभाव गर्नेहरूलाई सरकारले कडा सजाय गर्नुपर्छ।
तपाईले स्याहार्नु भएका आमाहरूका सन्तान भेट्न आउँछन् कि आउँदैनन् ?
अहिलेसम्म दुई जना आमाका छोरी मात्र भेट्न आएका छन्। कसैका छोरा चाहिँआएका छैनन्।
आमाहरू फालिनुको मुख्य कारण के रहेछ ?
मेरो अनुभवमा शिक्षाको कमी र गरिबीका कारण आमाहरू फालिन्छन्। सदभाव, श्रद्धाको अभाव पनि हो। कक्षा ७ को पाठ्यक्रममा मेरो जीवनीे पढाइ हँुदो रहेछ। आमाघर अवलोकन गर्न विभिन्न विद्यालयबाट विद्यार्थीहरू आउँछन्।
समस्याचाहिँ के-के हुन् नि ?
भवनको समस्या छ। भवन ठूलो भए व्यवस्थ्िात रूपले सञ्चालन गर्न सकिन्थ्यो। आमाहरू बितेपछि अन्तिम संस्कारका लागि पनि पैसा चाहिन्छ। ९०-९२ जना छौं। मासिक १ लाखभन्दा बढी खर्च हुन्छ। त्यसैले आर्थिक समस्या पनि भैरहन्छ। ५ लाख रुपैयाँजति ऋण छ।
त्यत्रो खर्च कसरी जुटाइरहनुभएको छ ?
विभिन्न दाताहरूको सहयोगले चलिरहेको छ। अमेरिका, जापान, कोरिया, हङकङ, सिङ्गापुरमा रहेका नेपालीहरूले सहयोग गरिरहनुभएको छ। केहीले नियमित रूपमा प्रत्येक महिना पैसा पठाइरहनुभएको छ। सरकारले आमाघरलाई सहयोग गरेको छैन ?
आमाहरूलाई ख्वाउन भनेर म्ासिक वा वाषिर्क रूपमा पाउने गरी हालसम्म कुनै रकम पाएको छैन। मायामात्र पाएकी छु। विभिन्न देशमा हुने प्रशिक्षणहरूमा पठाउनुभएको छ भने दोसल्ला ओढाएर सम्मान गर्नुभएको छ। घर लिलाम हुन लागेका बेला तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले १० लाख रुपैयाँ दिनुभएको थियो।
सबैकी आमा हुन पाएकोमा कस्तो लाग्छ ?
हो, मलाई बच्चाहरूले मात्र होइन, १ सय ३ वर्षकी हजुर आमाले पनि 'आमा' भन्नुहुन्छ। सबैको 'आमा' हुन पाएकोमा खुसी छु।
भविष्यको योजना कस्तो छ नि ?
बाँचुन्जेल मात्र होइन, म मरेर गए पनि 'आमाघर' सञ्चालन होस् भन्ने चाहन्छु र त्यसका लागि अक्षयकोष खडा गरेकी छु। त्यसमा २-३ करोड रुपैयाँ ब्यालेन्स गरी त्यही पैसाको ब्याजले आमाहरूका लागि खर्च गरिनेछ। पैसा जुटे मातातीर्थको जग्गामा ठूलो भवन निर्माण गर्ने योजना छ। त्यस्तै हेलम्बुकी छिरिङ बहिनीले २ सय रोपनी जग्गा दिएकी छिन्। बजेट पर्याप्त भए जुनसुकै देश, धर्म, जाति नछुट्याई संसारभरका आमाहरू अटाउने 'विश्व आमाघर' बनाउने इच्छा छ।[साप्ताहिक]