हरेक सुनको बिहानीमा मुस्कुराउने तिम्रो हिमाल
आज काल मुस्कुराउन विर्सिसकेको छ
लाली गुराँस फक्र्रने पर्वतालयको भित्ता भित्ताहरु
दिनहूँ आला रगतका टाटै टाटाहरुले पोतिन थालेको छ
पहाडका डाँडा–काँडाहरुमा
फेदीहरुमा , भञ्ज्याङहरुमा चौतारीहरुमा
अनगिन्ती असहायहरुको आला चिहानहरुको विसौनी वनेको छ
अनि बिछोडीएकाहरुको अन्तर्नादका ध्वनि–प्रतिध्वनीहरुले
दिनहरुलाई ऐठन गर्न थालेको छ ।
तल खेतवारीका गहृाहरुमा, फाँटहरुमा, मैदानहरुमा पनि
बारुदको खेती मौलाउन थालिसकेको छ
अझ तल
निमेषमा मानबताको संहार गर्ने तप्त भट्टीहरु
अर्को नागासाकी हिरोसिमा खोजिरहेछ
लाग्छ अघोषित युद्ध छेडिसकेको छ
त्यसैले आउ बुद्ध तिमी आउनु पर्छ
उहिले उहिले न्याय नपाए “गोर्खा जानु”भन्थे
अब त किंवदन्तीहरुलाई पनि धमिराले खाईसकेछ क्यारे
किन कि तिम्रो हस्तिनापुरमा
कौरव र सकुनीहरुको पासाको खेल्ले
धृतराष्ट्रलाई मोहरा बनाएर
सकुनी, कौरव, नव सकुनी कौरवहरु
व्रम्हलुटको ताण्डव नृत्यमा मस्त छन्
आलो पालो पासा र चक्रब्यूह बुन्नमा ब्यस्त छन्
हस्तिनापुरको टाढा टाढा क्षेत्रहरुमा
चाण्ड मुण्ड वक चक्र कंशहरु क्षेत्राधिपति वनेर
यति बेला मुलुक अंशबन्डाको नक्सा र राजिनामा लेख्न ब्यस्त छ
वर्वर अराजकताले न्याय अस्ताई सकेको छ
अनि.त्रस्त देऊताहरु तिम्रो वाटो हेरिरहेका छन्
त्यसैले आउ बुद्ध तिमी आउनु पर्छ
हरेक विहानीको प्रभात फेरीमा
आजकाल शान्तिका मन्त्रोचरण र शंखनादहरु गुञ्जन छाडीसकेको छ
किनकी अव त तिम्रो क्षितिजमा सूर्योदय र अस्त पनि
वारुद को सलामी र मलामी बाट गिन्ती हुन थालेको छ
निरिह स्वँयम्भू केहि देख्दैन,
बुढो अर्धमुदित आँखा पनि टेरिजियमको शिकार भईसकेको छ
चार भञ्ज्याङ्गलाई निकाश दिने
मञ्जुश्रीको कुनै अत्तो पत्तो छैन
यत्रतत्र भन्न थाली सके
तिम्रो पर्वतालय कुरुक्षेत्र बनिसक्यो रे
हस्तिनापुर दन्दनी अग्नी कुण्डमा जली सक्यो रे
देउताहरुको उठीबास् लगाई सक्यो रे
सुनिन्छ श्रीकृष्णको चक्र र श्रीरामको वाँणमा पनि खिया लागी सक्यो रे
असाहय पशुपतिनाथ वागमतीको डिलमा रुँदै बसेका छन रे
यत्रतत्र सर्वत्र
अधर्म अधर्म हिंसा हिंसा वारुदका धरापहरु
र वरुदकै विस्कुनहरु थापिएकाछन् रे
त्यसैले आउ बुद्ध तिमी आउनु पर्छ ।
खण्डित हुन लागेकोछ यो पावन हिंमवत खण्ड
हिंसा र अविश्वासले जर्जरवनेको छ यो क्षेत्र
त्यसैले यो नव–कुरुक्षेत्रमा
तिमीले कृष्ण बनेर युगको रथ हाक्नु पर्छ
अर्जुन बनेर अधर्म माथि प्रहार गर्नु पर्छ
किनकी असत्य माथिको प्रहार हिँसा हुदैन,
अधर्म हुंदैन
हामीमा भरोसा छ –
तिम्रो अहिंसाको निशाना अर्जुनको भन्दा अचुक छ ।
र त देउताहरु बिश्वास गर्छन्
तिम्रो प्रहारमा अग्नी हैन अमृतको बर्षा हुन्छ
त्यसैले आउ बुद्ध तिमी आउनु पर्छ
तिम्रो मुद्धित नयन खोली हेर त
तिम्रो आगमनको आशामा
देउताहरुले बाटाभरी आँखाहरु बिछ्याई राखेका छन्
दाजु गुरुङ्ग ,हङकङ