रुम्जतार्मा उत्पादित अकबरे खुर्सानी बिदेशमा निर्यात

 ओखलढुङ्गा बैशाख २० ,  

व्यावसायिकरुपमा खेती गर्न सकिए विदेशमा भन्दा स्वदेशमै धेरै आम्दानी सकिने अनुभव विराज भण्डारीको छ । अकबरे खुसार्नीको अचार उद्योगमा काम गर्ने रुम्जाटार–६ का २५ वर्षीय भण्डारीले अहिले मनग्ये आम्दानी गर्न थालेका छन् । भण्डारीसहित तीन युवा उद्यमीले सात महिनाअघि २०६९ कात्तिक महिनाबाट सुरु गरेको अचार उद्योगबाट वार्षिक रु सात लाखभन्दा बढी आम्दानी हुने गर्छ । 

छोटो अवधिमै रुम्जाटारमा उत्पादित अकबरे खुर्सानीको अचार अमेरिकासम्म निर्यात हुन थालेको छ । सदरमुकामको छिमेकी गाविस रुम्जाटार–६ का विराज, खोटाङ लामीडाँडाका राजकुमार खतिवडा र भोजपुरकी शारदा लम्सालले सुरु गरेको अकबरेको खेतीसँगै उत्पादन गरिएको खुर्सानीको अचार स्वदेशमा मात्रै नभएर विदेशमा पनि माग हुन थालेको छ । उनीहरूले अकबरे खुसार्नी खेतीसँगै हिमालयन ग्रीन हिल प्रोडक्टस् उद्योग दर्ता गरी अचार उत्पादन सुरु गरेका हुन् । 

दुई वर्षअघि चार रोपनीमा अकबरे खुर्सानी र बेसार खेती सुरु गरेका उनीहरूले १० टनभन्दा बढी बेसार निर्यात गरिसकेका छन् । बेसार भने स्थानीय बजारमा खपत हुने गरेको छ । बेसार र अकबरे खुर्सानीको अचारबाट उनीहरूले यस वर्ष मात्रै रु १६ लाखभन्दा बढीको आम्दानी गर्न सफल भएका छन् । “सुरुको लगानी रु एक लाख ५० हजार मात्रै हो, अहिले हाम्रो उत्पादन अर्गानिक भएकाले अमेरिका बेलायतबाट पनि माग आउन थालेको छ”, उद्योगका सञ्चालक विराजले भने – हामीले अमेरिकासम्म निर्यात गर्न थालेका छौँ । 

भण्डारीका अनुसार कुनै व्यापारिक कम्पनीले माग नगरे पनि त्यहाँस्थित नेपालीले टेलिफोन गरेरै अचारको माग गर्न थालेका छन् । वैदेशिक रोजगारीका लागि गएका स्थानीयवासीले आफन्तलाई जापान, कतार, दुबई र बेलायतसम्म पठाउने गरेको उनले जानकारी दिए । अकबरे खुर्सानीको अचार छिमेकी जिल्ला सोलुखुम्बु र खोटाङमा अत्यधिक माग हुने गरेको बताइन्छ । स्थानीय स्तरमा भन्दा सहरी क्षेत्रमा मूल्य बढी पाइने भएकाले राजधानीको भाटभटेनी सुपर मार्केटलाई अचार आपूर्ति गर्नेबारे सम्झौता गरेको भण्डारीले बताए । 

स्थानीयस्तरमा फलेको अकबरेको मात्रै नभएर उनीहरूले हाल राँगा र खसीको सुकुटीको समेत अचार उत्पादन गरिरहेका छन् । सुकुटीका लागि आफैँले खसीपालेको उनीहरूले बताएका छन् । तीन युवा उद्यमीले गत वर्र्ष अकबरे खुर्सानी चार रोपनी क्षेत्रफलमा नौ मुरी फलाएका थिए । यसपालि १५ रोपनीमा अकबरे र १२ रोपनीमा जिरे खुर्सानी लगाउने तयारी उनीहरूले गरिरहेको छ । 

उद्योगबाट अचारसम्बन्धी ज्ञान भएका सात स्थानीयवासीले प्रत्यक्ष रोजगारी पाएका छन् । अकबरे खुर्सानीको अचार खाद्य गुणस्तर मापन कार्यालय विराटनगरले मापदण्ड बमोजिम रहेको भन्दै ‘अनुज्ञापत्र’ दिइसकेको छ । एक सय ५०, तीन सय र पाँच सय ग्रामको तौलका छुट्टाछुट्टै प्याकेटमा अकबरे र सुकुटीको अचार बजारमा उपलब्ध हुने गरेको छ । रासस;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com