मनाङबासीहरु घर बन्द गरेर यार्सागुम्बा संकलन गर्न हिमाली क्षेत्रतिर

मनाङ, जेठ ३,

हिमालपारीको जिल्ला मनाङका अधिकांश घरहरु बन्द गरेर परिवार सहित मनाङबासीहरु यार्सागुम्बा संकलनका लागि हिमाली क्षेत्रतिर लागेका छन् । मनाङ प्रशासनले नार र फू गाउँमा यार्सागुम्बा संकलनका लागि बाहिरी जिल्लाका बासिन्दाहरुलाई भने प्रतिवन्ध लगाएको छ । 

तर, गत माघ महिनासम्म मनाङमा अस्थायी वसोवास गरेको प्रमाणित भए यार्सागुम्बा संकलनका लागि पूर्जि दिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापभित्र पर्ने मनाङका १३ वटै गाविसमा गठन भएको संरक्षण क्षेत्र ब्यवस्थापन समितिको अनुमति विना यार्सागुम्बा टिप्न गएमा कारबाही हुने जनाईएको छ । 

तीन बर्षअघि मनाङको नारस्थित लेकमा यार्सागुम्बा संकलनका क्रममा स्थानीयबाटै ७ जना गोरखालीको हत्या भएपछि एक्याप, संरक्षण क्षेत्र ब्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिले ‘असुरक्षा’ को कारण देखाउँदै बाहिरी जिल्लालाई यार्सागुम्बा संकलनमा रोक लगाएको हो । 

यार्सागुम्बा संकलनको अवधिभर सुरक्षालाई मध्यनजर राख्दै मनाङको ङावल, तिल्चे, थोराङफेदी र मेतामा अस्थायी प्रहरी चौकी राखिएको प्रमुख जिल्ला अधिकारी हरि प्रसाद बास्तोलाले जानकारी दिए ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com