१० रुपैयाँ दिएर बलात्कार, गर्भ ७ महिना भएपछी घटनाको खुलासा

विराटनगर, वैशाख २८ ,

महेश आचार्य : १० रुपैयाँ दिएर बलात्कार गरिएकी ११ वर्षकी एक बालिकाको गर्भ ७ महिनाको भएपछि मात्र घटनाको खुलासा भएको छ । थाहा पाएपछि पीडित बालिकाका अभिभावकले अभियुक्तलाई कारबाही माग्दै प्रहरीमा जाहेरी दिएका छन् भने बलात्कार गर्ने झापा खुदुनाबारी-१ सिस्नेका ४० वर्षे सुरेन विक फरार भएका छन् । 

स्थानीय बोर्डिङ स्कुलका बस चालक विकले ७ महिनाअघि ती बालिकालाई १० रुपैयाँको नोट दिएर आफ्नै घरमा लगी बलात्कार गरेका थिए । पीडित बालिकाका बुवा-आमा स्थानीय खोलामा गिटी कुटेर गुजारा गर्दै आएका छन् । छोरीले खुट्टा दुख्यो भन्ने गरेको र खुट्टा मिचिदिँदै जाँदा पेटमा सारो डल्लो भेटेपछि वैशाख ४ गते उनको पेटमा गर्भ रहेको खुलासा भएको हो । 

विपन्न पीडित पक्षलाई कानुनी उपचारका लागि स्थानीय सहनशील महिला सहकारी संस्थाले सहयोग गरेपछि मात्र वैशाख १० गते इलाका प्रहरी कार्यालय अनारमनीमा जबर्जस्ती करणीको मुद्दा दर्ता गरिएको हो । पीडित बालिका स्थानीय सामुदायिक विद्यालयमा कक्षा ३ मा अध्ययनरत छिन् । संस्थाले मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पताल अनारमनीमा उनको परीक्षण गर्दा सात महिनाको गर्भ रहेको जानकारी अस्पतालले दिएको थियो । 

पीडित बालिका अहिले विराटनगरस्थिति एबीसी नेपालको संरक्षणमा रहेको अध्यक्ष विष्णु शर्माले बताइन् । उनले अवधि नाघेकाले बालिकाको गर्भपतन गर्न नसकिने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको बताइन् । उनका अनुसार बालिकालाई एबीसीकै संरक्षणमा पोषिलो खानेकुराहरू दिएर चिकित्सकको निगरानीमा राखिएको छ । 

जन्मने शिशु जिम्मा लिएर हुर्काउने आमाबाबुसमेत फेला परेको जानकारी दिँदै शर्माले अभियुक्तलाई जबर्जस्ती करणी मुद्दापछि अंश मुद्दा हालेर पीडकबाट पीडितलाई भराउन कानुनी परामर्श सुरु गरेको बताइन् । इलाका प्रहरी बिर्तामोडका निरीक्षक जगन्नाथ खनालले अभियुक्तको खोजी भइरहेको बताए । उनले पीडितलाई न्याय दिलाउन प्रहरी सक्रिय रहेको दाबी गरे । पीडित पक्ष सोझा भएकाले पनि खोजतलासमा स्थानीयको खाँचो रहेको पनि उनले बताए ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com