कविता, समयको बहाव : By, हरि पौडेल



समयको बहावमा बग्ने म व्यक्ति
होइन
मेरो कर्म नै समय बनाउनु हो
घमण्डी भन्नु हुन्छ होला ?
इश्वरले बनाएको प्रतिमा हुँ
के गर्नु !
यस्तै छु।
समय अनुसार
आफ्नु आचरण
स्वाभिमान
निष्ठा
औसरवादी ले बदल्छन
क्षमा गर्नु !
म औसरवादी होइन
मिथ्या बोल्न न सक्ने व्यक्ति
खरो हुन्छन।
समय अनुसार बदल्ने व्यक्ति
काँचो माटोको भाँडो जस्तै हुन्
कुमाले ले जब चाह्यो
जे चाह्यो
बनाउन सक्छन
क्षमा गर्नु !
म काँचो माटोको भाँडो होइन।
हत्केलामा कोट्याएर
भाग्य खोज्दै हिडेर हुन्छ र?
समय नै यस्तै छ भनि
पनछ्याएर हुन्छ र?
सबै सत्यवादी
कर्मयोगी
हुनै पर्छ भन्ने पनि त छैन
सत्यवादी युधिष्ठिर कहाँबाट ल्याउने?
कर्म योगी चाडक्य कहाँ गई खोज्ने?
सपुत जन्माउने ले
कपुत जन्माउदैन भन्ने
आधार के छ र?
बुद्ध पनि त यहि जन्मेका थिए
अनि!
प्रचण्ड पनि यहि जन्मेका हुन्
यो कलियुग हो भनि
समयलाई दोष दिई केहि हुन्न
द्वापरमा कृष्ण मात्र होइन
कंग्स पनि जन्मेका थिए
त्रेतामा राम मात्र होइन
रावण पनि जन्मेका थिए
समय अनुसार बदलिदै
कंग्सको राज्यमा कंग्स जस्तै किन बन्नु
समय अनुसार बदलिदै
रावणको राज्यमा रावण जस्तै किन बन्नु
कंग्स र रावणलाई नै बदल्नु नि !
पुराण कालमा पनि सुर्य
पूर्व बाटै उदाएथ्यो
पश्चिममा अस्ताएथ्यो
यस कालमा पनि बदलिए न त
समयलाइ दोष दिई
आचरण बदल्ने
मेरो प्रवृत्ति होइन
भ्रष्टाचारीहरुकै बिचमै
वल्झिए पनि
क्षमा गर्नुस म भ्रष्टाचारी
बन्न सक्दिन
रावण र कंग्स जन्मदैमा
न आत्तिनुस
राम र कृष्ण पनि
सङ् संगै जन्मेकाछन
आउनुस तपाई र हामी मिलि
आफ्नु आचरण
स्वाभिमान
अनि निष्ठा संगै बोकी
समय संगै माराथुन गर्दै
राम र कृष्ण कहाँ जन्मेकाछन
खोजी गरौँ

हरि पौडेल
नेदरलैंड  

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com