संसारमा फेसनको

काठमाण्डौ बैशाख २०,

 रीना गुरुङ : फेसनको संसारमा नाम र दाम कमाउन फेसन शिक्षा अनिवार्य छ? के सबै डिजाइनर, मोडल, मेकअप आर्टिस्ट, स्टाइलिस्टहरूले फेसनको औपचारिक शिक्षा हासिल गरेका छन् ? स्वदेशमा फेसन पढ्नु ठीक कि विदेशमा? चित्र कोर्न नआउने व्यक्ति पनि डिजाइनर बन्न सक्छन्? कपडा सिलाउनै आउँदैन, कसरी डिजाइनर बनेर खाइन्छ? यस्तो शिक्षालाई पनि सरकारले मान्यता दिएको छ र? अशिष्ट तवरले छोटा कपडा लगाएर, जीउ देखाएर हिँड्नु नै फेसन हो? यी त्यस्ता केही प्रश्न हुन् जुन फेसनका बारेमा हामीकहाँ व्याप्त छ। 

नयाँ-नौलो विषय भित्रिँदा पक्कै पनि मानिसहरूलाई बुझ्न गार्‍हो पर्छ। उत्सुक व्यक्तिहरू टेलिभिजन, इन्टरनेट तथा पत्रपत्रिकाहरू हेरी कुरालाई आफूअनुकूल बुझ्छन् र देखासिकी गर्छन्, चाहे त्यो बुझाइ सही होस् वा गलत। यही अधुरो बुझाइ र रोजाइकै कारण हामीकहाँ फेसन र फेसनेबलको अर्थलाई नै बङ्ग्याइए को छ। दुर्भाग्यवश यहाँ आधाभन्दा बढी जनसंख्याले अश्लीललाई सेक्सी, अर्धनग्नलाई फेसनेबल र विकृतिलाई फेसन भनेर बुझ्छन्। फेसन कामुक हुनसक्छ, मन्द हुनसक्छ, सुन्दर हुनसक्छ तर अश्लील हुन सक्दैन। यदि कसैले अश्लीलतालाई फेसनसँग जोड्छ भने त्यो व्यक्ति आफैंमा एक फेसन डिजास्टर हो, न कि फेसनेबल। 

अब सोच्नुहोला, बिकिनी शो तथा लान्ज्रे शोमा त मानिसहरू अर्धनग्न नै हुन्छन्, के त्यो डिजास्टर नै हो त? अहँ होइन, त्यस्ता शोमा ध्यानपूर्वक हेर्ने हो भने ती मोडलहरूलाई मात्र देख्न सकिन्छ जो अर्धनग्न अवस्थामा पनि अश्लील नभै कामुक देखिन्छन्, चाहे मोटो होस् वा दुब्लो, साथै त्यहाँ फोटोसुटमा बढी ध्यान पुर्‍याइन्छ र उच्च व्यावसायिक फोटोग्राफरहरूलाई समावेश गराइन्छ। त्यसैले भनिन्छ, अश्लीलता र फेसनबीचको भिन्नता छुट्टयाउन सक्नुपर्छ। 

फेसन जगत्मा राम्रो नाम कमाउन फेसनसम्बन्धी राम्रो जानकारी तथा यसका अन्य क्षेत्रहरू, जस्तै ः सिलाइ, कटाइ, डिजाइन, कपडाको गुणस्तर प्रति उत्सुकता हुनु आवश्यक छ। लाखौँ रुपैयाँ खर्च गरेर देशविदेशका चर्चित कलेजहरूबाट पढेर मात्र फेसन शिक्षा आर्जित गर्न सकिन्छ भन्ने होइन। फेसन व्यावहारिक शिक्षा हो, जुन आफ्नै अभिरुचि एवं जिज्ञासाबाट पनि हासिल गर्न सकिन्छ। यो क्षेत्रमा लागेका हरेक व्यक्तिसँग फेसनको औपचारिक शिक्षा छैन तैपनि उनीहरूले विश्वव्यापी नाम कमाएका छन्। 

उदाहरणका रूपमा हामी अहिले चलेका डिजाइनर अलेक्जेन्डर वाङलाई नै लिन सक्छौ, उनीसँग फेसन कलेजको कुनै डिग्री छैन तर उनी अहिले ब्यालेसिएगाका मुख्य डिजाइनर भएका छन्। यद्यपि कलेज गएर पढियो भने संघर्ष गर्न सहज हुन्छ, ज्ञानको दायरा फराकिलो हुन्छ। नेपालमा गिनेचुनेका फेसन कलेज छन्। त्यसमाथि पनि फेसन शिक्षालेसामाजिक मान्यता पाइसकेको अवस्था छैन।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com