तिमीलाई कसरी स्वागत गरु म ? : By, दाजु गुरुङ



चैते हुरीको सइरन वजाउदै 
कच्ची वाटामा टेक्टरले धुलो उडाउदै दौडे झै
टुप्लुक्कै आइपुगेछ मेरो आँगनमा नयाँ वर्ष 
वहि पुरानो ढर्रामा 
लौ आफै भन–
तिमीलाई कसरी स्वागत गरु म ? 

कति खुशी थियो हिजका दिनहरुमा 
वाटा भरी लालु पाते र लाली–गँुरासहरु फक्रिएका थिए
मनका द्धारहरु रंगी चंगी ध्वाँजा र पताकाहरुले सजिएका थिए 
जता ततै हर्षहरु फूलेका थिए 
मनमा थामी नसक्नु खुशी खुलेका थिए 
तिमी आयौ तर पत्तै भएन कति वेला गयौ 
केवल हुरी भएर आयौ 
वतास भएर विलायौ 
लौ आफै भन –
तिमीलाई कसरी स्वागत गरु म ? 

छुट्टीमा घर फिरेको नयाँ लाहुरे जस्तै 
कोशेलीका गुण्टाहरु भरिया लगएर आयौ 
घर आएका लाहुरेको गुण्टाहरुमा 
मायालुको लागि मायै माया उपहारहरु
साथी –भाई हरुका लागि सम्झनाका कोशेलीहरु 
अनि गाँम–घरका लागि साचेको हुन्छ ,
आफू हुनुका असिम भावनाहरु 
र त परदेशीहरु घर फिर्दा गाँम–घर खुशीले फूलेको हुन्छ 
तिमी आयौ तर गयौ सुटुक्क
कुनै पहिलो छुट्टीमा आएको नयाँ लाहुरे जस्तै 
कतै दिन भरीको ज्याला हराएको दाउरे जस्तै 
लौ आफै भन–
तिमीलाई कसरी स्वागत गरु म ? 

नचाहे पनि के हुन्छ र !
तिम्रो आँगमनमा वसन्ती वाग हाँसेकै हुन्छ 
मनको आँगन भरी आशाका द्धीपहरु वलेकै हुन्छ 
र त तिमी विजयको दुन्दुभी वजाउदै आउछौ 
सुनेको थिए ,हिजको दिनहरुमा 
कहिले मालतीका भट्टीहरु मातिदै थियौ रे तिमी
कहिले झल्लु प्रल्लु मल्लु वल्लु उल्लु सल्लु डल्लु मल्लुहरुका नाट्यशालाहरुमा
ताण्डव नृत्यको प्रशिक्षण लिईरहेको थियौ रे तिमी 
अनि आशा विश्वास र भरोसाहरुलाई टेक्दै टेक्दै गयौ तिमी 
र त काकाकुल मनहरु मेलाम्ची जस्तै अलपत्र परेको छ
अध्यारोमा वस्ने वानी अझै पुरानो भएको छ
डाँका जस्तै हल्ला गर्दै आयौ निशाचर जस्तै हरायौ
कुनै अपरिचित वटुवा जस्तै 
वाटो विराएको लठुवा जस्तै 
लौ आफै भन–
तिमीलाई कसरी स्वागत गरु म ?

हरेक साल तिमी यहि वाटो भएर आउछौ पर्खन मन लाग्छ 
ठुल्ठुला गुण्टाहरु भरीया लगाएर आउछौ आँशाहरु कोरल्न मन लाग्छ 
सधै सधै आइरहदा तिमीलाई भन्न मन लाग्छ –
आउने भए झुपडीहरुमा माड भएर आँऊ
द्धन्द र अविश्वासले टुक्रा टुक्रा भएको मनहरुलाई वाध्ने 
एकताको माला भएर आऊ 
आँगन भरी फेरी परेवा घुर्ने खुशीको वुद्ध भएर आऊ ।
तर खोई कसरी भरोसामा वसु ?
घाम जस्तै आउछौ 
छायाँ जस्तै विलाउछौ 
लौ आफै भन– 
तिमीलाई कसरी स्वागत गरु म ?

 दाजु गुरुङ , हङकङ

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com