कबिता, ए नया बर्ष : By, सुरेश कट्वाल, झापा



ए नयाँ बर्ष,
कति छिट्टो आएको
पुरानोलाई बिर्षियौ ?
तिम्रो पुरानोमा,
कयौं क्रान्तीका कुरा भए,
कयौं भ्रान्तीका सुरा भए,
तिमीले मेरो चोह्ला फेरेउ,
तर मेरा सन्तानका चोह्ला फेरेनौ ।
ए नयाँ बर्ष,
तिमी काहाँ थियौ ?
तिम्रो हरेक पलायन सँगै
मेरो देशमा,
कयौं देश घाती काम भए,
कयौं जनताका माम गए ।
ए नयाँ बर्ष,
तिमी जति जति टाढा भयौ,
मेरा छोरा-छोरी धेरै प्रवासिए ।
तिम्रो पलायन सँगै,
हेर त ! पुर्ब,
मेरो कोशी रुदै छ ।
तिम्रो आगमनको निरासामा
मेरो कर्णाली सुक्दै छ ।
तिम्रो पुनर्गामनको पर्खाईमा,
दु:ख हर्ने महलम छ की भनि,
मेरो देश पर्खिदै छ ।
के बास्तव मै,
तिमी मेरो महलम हुन्छौ त ?
ति डाँडा-पखेरालाई
लागेका चोटका घाउ
फेरी बल्झदै छन,
मेरा छोरा छोरीहरु
अनि तिनै खोल्सा-खाल्सीमा लड्दै छन् ।
ए नया बर्ष,
तिमी यो घाउ मेट्न सक्छौ त ?
खोल्सा-खाल्सी पुर्न सक्छौ त ?
सक्छौ भने,
म पक्कै तिम्रो स्वागत गर्छु ।
मेरा सन्ततीलाई
केही चाहिदैन,
पौरखी हातहरु सबैका छन्,
केवल माग्छु म,
तिमी सँग एक माना सद्बुद्धी,
एक पाथी सत्मार्ग,

एक मुरी शान्ति भए,
केव़ल मलाई पैंचो देउ,
तिर्ने छु माना-माना गरेर भए पनि !
ए नयाँ बर्ष
ईच्छा र आकंक्षाको भकारी देउ,
हरेक साल एक एक बोरी भर्ने छु,
सबै सन्तानका कष्ठ हर्ने छु ।
ए नया बर्ष,
तर दु:ख नमान,
तिम्रा हरेक आगमनले
मेरो एउटा सन्तती
काठमाण्डु फुलिदै छ ।
जसरी ट्युबमा
चाहिने भन्दा बढी हावा हालेर
फुलेको ट्युब छ ।
तिम्रो आगमनको खुसीमा,
देश पुरै रुदै छ,
तर,
काठमाण्डु खुसि छ,
काठमाण्डु हाँस्दै छ,
बधाई छ तिमीलाई,
स्वागत छ तिमीलाई,
"नया बर्ष" ....!!!!

सुरेश कट्वाल, झापा
हाल :- गोवा


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com