आज उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ

काठमाडौं, चैत २८,

चैत्रकृष्ण औँसीका दिन आज काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ। घोडेजात्रा अवलोकनका लागि राष्ट्रप्रमुख टुँडिखेलस्थित खुलामञ्चमा सरीक हुने प्रचलन छ। घोडेजात्राको मुख्य आकर्षण घोडादौड हो जुन नेपाली सेनाद्वारा प्रदर्शन गरिन्छ।

आजका दिन पिशाच चतुर्दशी(पाहाँचह्रे)का रुपमा उपत्यकावासी मूलतः नेवार जातिले पर्वका रुपमा भोजभतेरको आयोजना गरी मनाउने प्रचलन छ। जनविश्वासअनुसार टुँडिखेलको पूर्वदक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेकाले पीडित सहरवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्न सक्ने भय तिनमा रहिरह्यो।

प्रत्येक वर्ष आजका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिन्छ। साथै सहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा दिइन्छ। नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिन्छ। आज ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने गरिन्छ। रासस;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com