काठमान्डू चैत्र २६,
सुरक्षा भन्नासाथ आममानिसमा हतियार र गोलीगट्ठाले सुसज्जित फौज चित्रित हुन्छ। मानव सुरक्षा के राज्यद्वारा परिचालित प्रहरी र सेनाले मात्रै गर्ने हुन् ? मानव सुरक्षामा सुरक्षा फौजसँग नजोडिएका अरू कुन-कुन पाटाहरू हुन्छन् ? वातावरण र खाद्यजस्ता विषय मानव सुरक्षासँग कसरी जोडिन्छन् ? यस्ता खुलदुली एउटै पुस्तकमा समेट्ने प्रयास गरिएको छ, ह्युमन सेक्युरिटी इन नेपाल : कन्सेप्ट, इस्यु एन्ड च्यालेन्जेजमा।
पुस्तकका ११ जनामध्ये राजन भट्टराईले सुरुआतमै सुरक्षाबारे प्रश्न तेर्साएका छन्, सुरक्षा कसका लागि ? कुन मान्यताका लागि ? कसबाट हुने खतरा ? र, के अर्थका लागि ? उनको ठम्याइ छ, मानव सुरक्षा लडाइँका बेला मात्र चाहिने होइन। यसले बृहत् क्षेत्र समेट्छ, जहाँ जिउने जनताको अधिकार, जागिर र राजनीतिक सहभागितामा पहुँचजस्ता विषयले महत्त्व राख्छ। मानव सुरक्षा अन्तर्गत राजनीतिक, सामाजिक र आर्थिक मात्र नभई वातावरणीय अवस्था र सांस्कृतिक अधिकारको पक्ष पनि समेटिन्छ। हो, भट्टराईले उल्लेख गरेझैँ अन्य सहलेखनबाट पुस्तकमा मानव सुरक्षासम्बन्धी बढीभन्दा बढी जानकारी दिने प्रयास भएको छ।
त्यसो त सुरक्षा अंगले सुरक्षाका विभिन्न पक्षलाई ख्याल गर्दै भावी रणनीति बनाइरहेका हुन्छन् तर ती कुरा बाहिर आउँदैनन्। तर, यस किताबमा प्रस्तुत विभिन्न ११ वटा खण्डमा लेखिएका लेखमा सुरक्षा मामिलामा दैनिक आइपर्ने विभिन्न सवालबारे चिरफार गर्ने जमर्को गरिएको छ। जस्तो : नेपाल राष्ट्र बैंकका गभर्नरले गरिबीका कारण सुरक्षामा आइपर्ने सम्भावित खतरा सूक्ष्म रूपले विश्लेषण गरेका छन्।
खाद्य अभाव र त्यसले मानव सुरक्षामा उत्पन्न गराउने द्वन्द्वबारे विश्लेषण गरेका छन्, यमुना घले र निर्मलकुमार विश्वकर्माले। अहिलेको जल्दोबल्दो विषय मानिएको जलवायु परविर्तन र मानव सुरक्षाको पाटोचाहिँ बटुकृष्ण उप्रेतीले राम्ररी केलाएका छन्। त्यस्तै, गेजा शर्मा वाग्लेले सशस्त्र द्वन्द्व र त्यसले पार्ने राजनीतिक असुरक्षाको विषयबारे भित्री पाटो उजागर गरेका छन्।
विषयवस्तुको छनोट, छपाइको गुणस्तर आदिका हिसाबले पुस्तकमाथि खोट लगाउने कुनै ठाउँ छैन। तर, यस पुस्तकलाई आफैँमा पूर्ण मान्न सकिन्न। मानव सुरक्षा जनचासोको विषय हो, जसलाई सरल र सबैले बुझ्ने भाषामा प्रस्तुत गर्न सकिन्छ। तर, यस पुस्तकका अधिकांश लेखकले आफ्नो लेखमा नेपालकै विभिन्न उदाहरण दिई बुझाउनुको साटो विदेशी प्राज्ञहरूको भनाइ राखेर बोझिलो बनाएका छन्।
यस हिसाबमा यो किताब सर्वसाधारणका लागि भन्दा पनि विशुद्ध प्राज्ञिक क्षेत्रलाई मात्र लक्षित देखिन्छ। यति गर्न सकिएको भए यो पुस्तकमा आफैँमा ओजिलो बन्ने थियो। यद्यपि, यसलाई ठूलै त्रुटि भने मान्न सकिन्न। पुस्तकले नेपाली वा विदेशी पाठकमाझ मानव सुरक्षासम्बन्धी नयाँ बहस सिर्जना गर्नेमा दुईमत छैन।नेपाल:
- भोजराज भाट
ह्युमन सेक्युरिटी इन नेपाल : कन्सेप्ट, इस्यु एन्ड च्यालेन्जेज
सम्पादक : विष्णुराज उप्रेती, राजन भट्टराई, गेजा शर्मा वाग्ले
प्रकाशक : नेपाल इन्स्टिच्युट फर पोलिसी स्टडिज र साउथ एसिया रजिनल कोर्डिनेसन अफिस अफ एनसीसीआर (नर्थ-साउथ)
पृष्ठ : २९६
मूल्य : ४०० रुपियाँ