बैशाख १४,
गरिवी र बाध्यताले सडकमा जीवनयापन गरिरहेका बालबालिकाको स्वास्थ्य अवस्था कति जोखिमपूर्ण रहेछ भन्ने कुरा एउटा घटनाले प्रष्ट पारेको छ । पारिवारिक हेरचाह र मायाबाट बञ्चित भएपछि प्लाष्टिक टिपेर जीवनयापन गर्दै आएकी काठमाडौंकी एक १६ वर्षे बालिका एचआइभी संक्रमति बन्न पुगेको घटनाले यस्तो जोखिमपूर्ण अवस्थाको खुलासा गरेको हो ।
पारिवारिक अवस्था नै अस्थिर बनेपछि दुई छाक हातमुख जोड्ने बाटो खोज्ने क्रममा आफू संक्रमित हुनुपरेको तीतो यथार्थ ती बालिकाले स्वास्थ्य खबरपत्रिकासँग सार्वजनिक गरिन् । काठमाडौंका सडकलाई नै आफ्नो घर मान्ने सीता (नाम परिवर्तन) आफ्नै कारणले यो अवस्थामा आएकी भने होइनन् । उनलाई जन्माउने बाबुआमा दुबै जनाको गैर जिम्मेवार जीवनशैलीका कारण उनी यस्तो अवस्थामा आएकी हुन् ।
सीताले आमाका चार श्रीमान् र बाबुका तीन श्रीमतीको भीडमा उज्यालो भविष्य कल्पनासमेत गर्न पाइनन् । ‘मेरो जन्म र कर्म घर सडक नै हो ।’ उनले भनिन् । शुरुमा अभावै अभावबीच पनि उनको बाल मस्तिष्कमा मिठो खाने र राम्रो लगाउने रहरको बेग रोकिएको थिएन ।
‘सडकको संगत थियो, त्यहाँ मीठो खानुभन्दा पनि लागूऔषध सेवन गरेर इच्छा दबाउन सिकियो ।’ आफूले पार गरेका कष्टकर दिन सम्झिदै उनले भनिन् ।
सडकमा भविष्य खोज्ने क्रमसँगै जिविकोपार्जनको माध्यम खोज्ने कुराले उनलाई बढी दबाब दियो । बाल्यकालमै उनले पशुपतिमा आउने दर्शनार्थीको जुत्ताचप्पल हेर्ने काम शुरु गरिन् । त्यो काम पनि पशुपति क्षेत्र विकास कोषले आफैं गर्न थालेपछि उनको रोजगारी खोसियो । उनले सडकमा प्लाष्टिक टिप्ने पुरानै काममा फर्किनुप¥यो । ‘सडकमा भोकै विताएका रात गनिसाध्य छैनन् ।,’ आँखाभरी आँसु पार्दै उनले भनिन्, ‘न राम्रो खान पाइयो, न त राम्रो लाउन नै ।’
जस्तोसुकै कष्टमा बाँच्नु पर्दा पनि उनलाई नियतिसँग ठूलो गुनासो थिएन । त्यो जीवन पनि खुसी नै थियो उनका लागि । तर त्यो बाध्यताले उनको जीवनमा अँध्यारा दिनको शुरुवात गराएको छ ।
‘म सडकमै संक्रमित भएकी छु ।’ उनले भनिन्, ‘त्यो पनि बलात्कारको शिकार भएर ।’ बाल्यकालमा उनी सडकमा भए पनि सुरक्षित नै थिइन् । चढ्दो जवानीसँगै उनी प्रहरीको आँखामा पर्न थालिन् । ‘प्रहरीबाट असुरक्षित थिएँ म, पक्रेर लगेपछि जथाभावी गाली गर्दै कि पैसा माग्थे, कि त यौन शोषण गर्न खोज्थे ।’, उनले भनिन् ।
प्लाष्टिक टिप्ने काम गर्दा खाते भन्दै अपमानजनक शव्दले डाकेको सुन्नु र शिशाले काटेर रगताम्मे भएका खुट्टा लिएर हिँड्नु उनको बाध्यता थियो । भन्छिन्, ‘यी सबै पीडा भुल्न डेन्ड्राइड सुँधथें । त्यही आरोपमा प्रहरीले समातेर पेटमा लात्ती बजाथ्र्यो ।’ यी सबै पीडाको बीच उनले बाँच्नकै निम्ति १५ वर्षको उमेरमा यौन व्यवसायको बाटो रोज्नुप¥यो ।
ठमेल र नयाँ वसपार्क उनको यौन व्यावसायका क्षेत्र थिए । उनले यो व्यवशायमा एक वर्ष पनि बित्न नपाउँदै एचआइभी संक्रमित हुनुप¥यो । ‘आफैं त सुरक्षित रुपमै व्यवशाय अपनाउँदै थिएँ, बलात्कारको घटनामा परेर एचआइभी संक्रमित भएँ ।’ उनले आफू संक्रमित हुनुको कारण खुलाइन् । सीताका अनुसार उनले बलात्कारीलाई चिनेर प्रहरीमा उजुरी गरे पनि प्रहरीले उसलाई गिरफ्तार गरेन । ‘त्यो मान्छे मेरै आँखा अगाडि खुलेआम हिँडिरहेको छ, त्यसलाई कारवाही भएको हेर्न पाए मनमा शान्ति हुन्थ्यो ।’, उनले भनिन् ।
करिब एक वर्षअघि मित्रपार्कको भूतबंगलामा उनी बलात्कृत भइन् । गौशालामा डेन्ड्राइट सुँगेर मस्त भएको समयमा एक जना मानिसले उनलाई मित्रपार्कमा साथीले बोलाएको भन्दै भुतवंगला पु¥याएर बलात्कार गरेको उनले बताइन् ।
भनिन्, ‘उसले जवर्जस्ती ग¥यो, त्यो घटनाले गर्दा म १६ वर्षकै उमेरमा संक्रमित भएँ ।’ एचआइभी संक्रमणपश्चात् उनी माइती नेपाल पुगिन् । ‘त्यहाँ पनि सडकबाट आएको भन्दै हेप्ने गरेकाले अपमान सहेर बस्न सकिनँ र म फेरि सडकमै फर्किएँ ।’
हाल दृष्टि नेपालको संरक्षणमा रहेकी सीता अहिले सडक बालबालिकाको पक्षमा बोल्न थालेकी छिन् । संक्रमितको संख्या घटनाउनका लागि सरकारले सडक बालबालिकाको संरक्षण गर्नुपर्ने उनको सुझाव छ । अर्कोतिर बाल संरक्षण गृहमा पनि संक्रमितमाथि गरिने व्यवहारले उनलाई निकै दुःखी तुल्याएको छ । उनकै अनुभवमा त्यहाँ पनि संक्रमित महिला र बालिकाको अवस्था निकै दर्दनाक छ ।
बाध्यतामा परेर संक्रमित भइसक्दा पनि यौन व्यवसाय छोड्न नसक्ने महिलाको संख्या धेरै भएको उनी बताउँछिन् । उनले भनिन्, ‘अरूलाई संक्रमण सार्न होइन, बाध्य भएर यौन पेशामा छन् ।’
सडक बालबालिका र संक्रमितको संरक्षमा पहल नगर्ने हो भने आगामी दिनमा निकै भयावह अवस्था आउन सक्ने खतरा सीताले देखेकी रहिछन् । ‘सडकमा बस्ने कतिपय युवायुवती त डराएर पनि एचआइभी परीक्षण गर्न मान्दैनन् , रोग थाहा पाएपछि के गर्नु ?’, उनले भनिन् । दृष्टि नेपालले हाल सडकमा बस्ने युवायुवतीमध्ये २० प्रतिशत संक्रमित रहेको दाबी गरेको छ ।(स्वास्थ्य खबर)