चितवन चैत २०,
रमेश पौडेल : आदिवासी थारु बाहुल्य क्षेत्र माडी बघौडा गाविसको वडा नं. ३ इनरबरुवामा महिलाले होमस्टे सञ्चालन गरेका छन्। १६ जना थारु महिलाले संयुक्त रुपमा सुरु गरेको होमस्टेमा आठवटा कोठा छन्। जसमा २५ जना पाहुना बस्न मिल्छ।
हालै सम्पन्न पहिलो माडी महोत्सवको अवसर पारेर सञ्चालनमा आएको होमस्टेले राम्रो व्यापार गर्दा महिला उत्साहित छन्। 'कहिल्यै हात नहालेको काम सुरु गरेका थियौं। तर महोत्सवका बेला राम्रो व्यापार भयो।
लामो समयसम्म चलाउन सक्छौं भन्ने आँट आएको छ,' होमस्टे सञ्चालन गर्ने हरियाली महिला समूहकी कोषाध्यक्ष सरस्वती महतोले भनिन्।
होमस्टेमा थारु समुदायको जीवनशैलीसँग सम्बन्धित सामान र चित्र छन्। खाना पनि सोही समुदायले खाने अनदी चामल बफाएर बनाएको चिच्चर, माछा, घोंगी, हाँस र कुखुराको मासु तथा चामलको पिठोबाट बनाइने ढिकरी रोटी पाइन्छ।
'थारु समुदायको पोसाकमा सजिएर पाहुनालाई खाना पस्किन्छौं,' कोषाध्यक्ष सरस्वतीले भनिन्।
उनका अनुसार खाना खाएर सुत्नुअघि थारु समुदायमा प्रचलित झुमरी, छेकरा (लाठी) र झाम्टा नाँच पाहुनालाई देखाइन्छ।
'समुदायको खानपान, संस्कृति र संस्कारबारे पाहुनाले जानकारी लिन्छन्,' सरस्वतीले भनिन्। घरका भित्तामा थारु संस्कृति झल्कने चित्रहरु कोरिएका छन्। समुदायले प्रयोग गर्ने समानहरु झुन्ड्याइएका छन्। ढोका पनि परम्परागत नै छ।
बसेको एक रातको एक सय रुपैयाँमात्रै तिर्नुपर्छ। खानाको अलगअलग मूल्यसूची छ।
मासु बिनाको खाना एक सय र मासुसहितको खाना १८० मा पाइन्छ। खाजाको पनि त्यस्तै मूल्य छ। पाँच सय रुपैयाँ तिरेर एक रात खान बस्न मिल्ने उनले बताइन्।
सदरमुकाम भरतपुरबाट जम्मा ५० किलोमिटर दक्षिणमा रहेको वसन्तपुर बजार नजिकै पर्छ इनर बरुवा। माडी क्षेत्रमा व्यवस्थित व्यावसायिक होटल कम छन्। वसन्तपुर बजारमा माडी महोत्सव हुने भएपछि आएका पाहुनालाई राख्न होमस्टे बनाइएको थियो।
'माडी महोत्सवमा पाहुना राख्न बनाए पनि दिर्घ कालसम्मै सञ्चालन गर्ने सोच हाम्रो हो,' महोत्सवको होमस्टे समितिका संयोजक जयराम महतोले भने। बघौडा गाविसको पिपरिया, इनर बरुवा र सिधुवामा २० वटा होमस्टे बनाउने योजना थियो। तर अन्य दुई ठाउँमा बनेनन्।
इनर बरुवाका महिलाले होमस्टे राख्न निकै मेहनत गरेको जयरामले बताए। आठवटा कोठा बनाउन एक लाख रुपैयाँ खर्च भएको छ। तर १६ जना महिलाले एक महिनासम्म श्रमदान गरेकाले खर्च कम भएको हो।
छाउने खरसमेत उनीहरु आफैंले काटेका हुन्।
महोत्सवका बेला होमस्टेको राम्रो प्रचार भएकाले अहिले पनि पाहुना आइरहेका छन्। माडीमा धार्मिक क्षेत्रहरु गोद्धक बाबा, सोमेश्वर कालिका मन्दिर र बैकुण्ठ ताल छन्। चैते दसैमा बनकट्टामा रहेको गोद्धक बाबामा मेला लाग्छ। यी ठाउँ घुम्न आउनेहरुका कारण होमस्टे सञ्चालनमा सहज हुने सरस्वतीको आशा छ।(नागरिक)
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै