आफैलाई छाम्दैछु___
आज म, म आफै हुँ कि होइन भनि छाम्दैछु
भोक प्यास त के हो बिर्सी नै सके मैले
ती अदम्य साहस खोइ कता हराए
जरै छिनाएको लहरो झैं, लत्रियेकिछु
के म, मै हुँ त ? म छाम्दैछु
अँ म ठम्याउदैछु, आफैलाई !
तुवालो__
दोरम्बाको त्यो डरलाग्दो
भिषण युअद्धको तुवालो भित्र
मैले तिम्रो (आमाको) मुहारमा
उज्यालो मुस्कान देखेकी थिए
जुन मुस्कानले, मलाइ
संसार जित्ने शक्ति प्रदान गरेथ्यो
र, मैले यहीं तप-तप चुहिएको
रगतले त्यो कालो ढुंगामा
नयाँ नेपालको न्वारान गर्छु भनि
सुनौला अक्षरहरु कुंदेकी थिए,
अनि,
अनि -
यहीं रगतले लत्पतिएको माटो मुठ्याइ
कसम खादैं तिम्रो आशिर्वाद लिएकी थिए,
तिम्रो त्यो दर्शनले संसार जित्ने
म मा अदम्य साहस दिएको थियो ,
त्यसपछि मैले मेरा सम्पूर्ण जीवन
तिम्रो आँचलको सप्कोमा कसी
बन्दुकको कुन्दाले आफैलाई ब्युँझाएकिथें
बिल्कुल नयाँ नेपालको परिकल्पनामा
स्वर्णिम सागरहरु तरे, सारा खुशीहरु
बारुदका छिर्कामा होम गरि
एक-तन, एक मन, एक दृष्टि
अनि एक नयाँ नेपाल काँधमा भीरि
कैयौं पटक माँ काली, दुर्गाको रुप लिए,
कैयौं प्रहार__
कैयौं पटक दुस्मनको
दुस्साहसपूर्ण प्रहारहरु चुके
मलाइ लाग्दथ्यो, यस जगतको
कुनै पनि प्राणीको प्रहारहरुले
मलाइ छुने छैन, किनकी
तिम्रै आसिर्वद्को कवाचले म
निस्प्राण हुन बाट बाँचेकिथें
मेरा निश्चल समर्पण, त्याग अनि,
आहुतीको आज अबमुल्यन भयो
आमा ,
र त म यत्ति कम्जोर भए,
अनि त तिम्रो कवाचले पनि
त्यो गोलीगठ्ठा छेक्न सकेन
तर फेरी म किन बाँचे
कसरि बाँचे !
के मैले यहीं दिन देख्नु थियो ?
हिजो हजारौं भिड भित्र युद्ध गर्ने म
आज एक्लै पनि त्रस्त छु ,
थर-थर कापिराहे छु !
निस्फल _
आमा मलाइ जुन नेपालको परिकल्पना
गराइएको थियो त्यो यस्तो थिएन
मेरा मस्तिष्कको ज्वरमा कोरिएको
नयाँ नेपालको मान चित्र यस्तो थिएन
अँह: बिल्कुल थिएन !
हजारौं जनको रगत यसै खेर गएको हो ?
आमा के म निस्फल भएकै हो त !
केहि त बोल !
जवाफ देउ !
किन मौन सबै !
किनतिमीहरु अक्रबष्ट झैं छौं !
फेरी म_
फेरी, आज म आफैलाई छाम्दैछु
अनि, मैलाई चिमोट्दैछु
हिजो दोरम्बाको डरलाग्दो
मिसायल सँग बाँचेर आउने मैथें ?
त्यो बयर वनको काँडा सँग कोरिंदै
अँध्यारोमा कुद्ने मैथें !
म आफैलाई छाम्दैछु ,
म ठम्याउने प्रयास गर्दैछु
के नयाँ नेपाल यहीं हो !
कि, म मै हुँ !
यासिन राइ