न्युयोर्क (अमेरिका), वैशाख २ ,
मैना धिताल : अकुपाई बालुवाटारलगायत नेपालमा भइरहेको महिला विरुद्धको हिंसा अन्त्य अभियानलाई समर्थन गर्दै कोर्नेल युनिभर्सिटीमा अध्ययनरत विद्यार्थीले चंगा उडान कार्यक्रम आयोजना गरेका छन् । 'कोर्नेल नेपाल स्टुडेन्ट असोसिएसन' द्वारा आयोजित 'फ्लाई काइट्स फर अ कज' कार्यक्रममा नेपालीलगायत विदेशी विद्यार्थीलेे कार्यक्रम अवधिभर चंगा उडाएर ऐक्यबद्धता जनाए ।
कार्यक्रम ४ घन्टा चलेको थियो ।
'नेपालमा महिलाहरूको अवस्थाबारे कोर्नेल समुदायलाई जानकारी दिनु कार्यक्रमको उद्देश्य हो,' कार्यक्रमका मुख्य संयोजक जीवन ज्ञवालीले भने । दिल्लीमा २३ वर्षे छात्रा बलात्कार र हत्या घटनापछि दक्षिण एसियामा महिलामाथि हुने ज्यादती र सशक्तीकरणका विषयलाई लिएर यो विश्वविद्यालयमा निरन्तर कार्यक्रम भइरहेका छन् ।
क्षिण एसियामा महिलामाथि बलात्कार, हत्याजस्ता जघन्य हिंसाका घटना एकपछि अर्को गरी बढ्न थालेपछि यतिबेला अमेरिकालगायत पश्चिमा सञ्चारमाध्यम र नागरिक समाजले त्यसलाई गम्भीरता पूर्वक बहस चलाइरहेका छन् ।
हालै सय दिन पूरा गरी सरकारको आग्रहमा आन्दोलनको कार्यक्रम स्थगित गरेको 'अकुपाई बालुवाटार' आन्दोलनप्रति ऐक्यबद्धता जनाउनु कार्यक्रमको अर्को उद्देश्य रहेको उनले जनाए । कार्यक्रममा सहभागीहरूले चंगामा महिला हिंसाविरुद्ध र अकुपाई बालुवाटारसम्बन्धित विभिन्न नाराहरू लेखेर समर्थन जनाएका थिए ।
भविष्यमा नेपाली महिला सशक्तीकरणका लागि काम गर्ने दीर्घकालीन योजनाको एक हिस्साको रूपमा कार्यक्रम गरिएको आयोजक विद्यार्थीहरूले बताए ।
कोर्नेलमा नेपाल कार्यक्रमअन्तर्गत अध्ययन गर्ने गैरनेपाली विद्यार्थीले पनि कार्यक्रम आयोजनामा सक्रिय सहयोग गरेका थिए । 'कार्यक्रम राम्रो भयो,' कार्यक्रमको व्यवस्थापन र प्रचारप्रसारमा जुटेका ओहायोका बासिन्दा एलेक्स पान र चिनियाँ विद्यार्थी क्यासी जङले भने, 'एक सातासम्म हामीले युनिभर्सिटीमा कार्यक्रमबारे ठूलै विज्ञापन गर्यौं ।'
एलेक्स संलग्न सिल्करोड क्लबले ग्रामीण नेपालमा केही विद्यालय निर्माण गर्ने लक्ष्य लिएको छ भने क्यासी 'समर इङ्िग्लस ल्याङ्ग्वेज टिचिङ प्रोग्राम इन नेपाल' मा संलग्न छन् । 'महिला सशक्तीकरणका लागि कार्यरत विभिन्न क्लबले कार्यक्रमप्रति ऐक्यबद्धता जनाए,' फुलब्राइट कार्यक्रमअन्तर्गत स्नातकोत्तर गरिरहेकी नेपाली विद्यार्थी हिमा राईले भनिन्, 'नेपाल र दक्षिण एसियामा महिलाको अवस्थाबारे कोर्नेल समुदायलाई जानकारी गराउन यो कार्यक्रमले मदत पुर्यायो ।'(इकान्तिपुर)