बसले ठक्कर दिँदा आमाको मृत्यु

गोलबजार (सिरहा) ,

सिरहा सदरमुकाममा आज दिउँसो मोटरसाइकलमा बसले ठक्कर दिएपछि आमाको मृत्यु भएको छ भने दुई छोरा घाइते भएका छन्। सिरहा नगरपालिका–७ मा भएको दुर्घटनामा मोटरसाइकलमा सवार इटारी प्रसाही–४ की ४८ वर्षीया सलदेवी मण्डलको घटनास्थलमै मृत्यु भएको छ।

मोटरसाइकल चलाउँदै गरेका मृतक सलदेवीकी छोरा अमरदेव मण्डल र तीर्थनाथ मण्डल घाइते भएका छन्। घाइते दुवै छोराको उपचार जिल्ला अस्पताल सिरहामा भइरहेको प्रहरी उपरीक्षक मनोज न्यौपानेले बताए।

कल्याणपुरबाट सिरहा सदरमुकाम आउँदै गर्दा ज३प ४७८५ नम्बरको मोटरसाइकल पछाडी को१ख ३५६७ नम्बरको जन्ती गइरहेको बसले ठक्कर दिएपछि दुर्घटना भएको थियो। मोटरसाइकलमा तीन जना सवार भएकाले गाडी अनियन्त्रित भएर बसमा ठोक्किएको प्रहरीले जनाएको छ। बस र चालकलाई जिल्ला प्रहरी कार्यालय सिरहाले नियन्त्रणमा लिएको छ। रासस;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com