बिचल्ली चेपाङ बालबालिकाले पाए आश्रय

१६ वैशाख, रत्ननगर

बिचल्लीमा परेका चितवनको विकट पहाडी गाविस लोथर–४ केलुङका पाँच चेपाङ बालबालिकालाई यहाँको गामवेसीको चेपाङ केन्द्रले आश्रय दिएको छ । पूर्व–पश्चिम राजर्मागको लोथर बजारबाट ८ घण्टाको पैदल दूरीमा पुगिने केलुङ गाउँका उनीहरुलाई केन्द्रले आश्रय दिएको हो ।

चेपाङ अभिभावकहरुले ती बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने भन्दै पूर्वी चितवनको खैरहनी उच्चमाविस्थित छात्रावासमा राखिएको भएपनि समस्या परेपछि उनीहरुलाई चेपाङ संरक्षण केन्द्रमा ल्याइएको हो । आर्थिक अभावका कारण तीन महिनादेखि खाने कुरा जुटाउन नसकेर अलपत्र परेका ती विद्यार्थीलाई संरक्षण केन्द्रले आश्रय दिएको र आजैबाट पठनपाठन सुरु गरिने केन्द्रका अध्यक्ष केपी किरण शर्माले जानकारी दिए।

केन्द्रको आश्रयमा आएका ती विद्यार्थीलाई आवासीय सुविधासहित पठनपाठन गराउने उनले बताए । चेपाङ सङ्घ लोथरका अध्यक्ष दीपबहादुर चेपाङले सामूहिक ज्यालादारी गरेर छोराछारी पढाउने योजनाका साथ पाँच जनालाई खैरहनी ल्याइएको भए पनि ज्याला गरेको पैसाले बिहान बेलुकाको छाक टार्न मात्र पुगेकाले छोराछारीको खर्च पु¥याउन नसकेको बताए ।

उनीहरुसँगै केन्द्रमा हाल मकवानपुरको काँगडा, चितवनको लोथर, कोराक काउले, सिद्धि र शक्तिखोरका गरी ४० चेपाङ बालबालिका आवासीय सुविधासहित अध्ययन गरिरहेका छन् । रासस;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com