कविता, बिदाई :By, बिजे बिद्रोही राइ



सबेरै छोडेको
त्यो आगन
रंगीबिरंगी फूल
मेरो चियाकप
बासनादार बाबरी
घरमाथीको अग्लो सिमलबोट
बाँसघारी धारा
पल्लोपानी कुवा
त्यो गैह्रीखेत
त्यो पाखोबारी

अनि
बुबाको अधुरो मन
आमाको न्यानो माया
बैनीको अशिमित श्रद्दा र बिस्वास
भाईको अगाढ भक्ती
बिदाईको लागी
रुईरहेका पखेराहरु
सँगै स्वर्णिम बिहानीमा जाग्ने
जुरेली र ति भंगेराहरु
कति बिरही भए होलान?
कति हतोत्साही भए होलान

सँगै हलोकोदालो गर्ने भैरे कान्छो
छाती फुलाएर यहिं सुन फुलाउनु पर्छ भन्थ्यो
टुकी भित्र बाँचीरहेको सत्य
पटुकीमा बाँधिएको पेट
अनि बलिको पशु झैं जिन्दगी
अनि हराउँदै हराउँदै गएको मेरो देशको मानचित्र
ओइलाउँदै खुम्चिदै हराईरहेको आफैभित्र

म पनि त्यै बिदाईको शुभ मुहुर्तमा उभिएको छु
जसरी कृष्णसेन उभिए अनि उनको बिदाई भयो
होटेल धुरीबाट बिदाई गरिएका यादब पौडेल झै
त्यस्तै थुप्रै बिदाईका हारमा उभाईएकाहरु
उमा सिंह, बिरेन्द्र शाह, प्रकाश सिंह ठकुरी
महेस्वर पहाडी, डेकेन्द्र राज थापा,
ज्ञानेन्द्र खड्का, देबी प्रसाद धिताल,
अरुण सिंघानिया, जमीम शाह, जे. पी. जोशी,
शंकर पंथी, अम्बिका तिम्सिना, र शम्भु पटेल
जस्तै, बिदाईका लाममा शंखनाद धुनसँगै,
धेरै भए कलमहरु बाहिर आउनै छोडेका
क्यामेरा फ्लास बिहिन भएका
अनि पानाहरुमा केवल बिदाईको खबर
श्रद्दान्जलीले भरिएका।

सडक सोक मग्न छ
शहरले खोजी रहन्छ उनिहरुलाई
लाटो बोलीहरु जिबित भ्रम पालेर
नियालिरहन्छन उनिहरुलाई
सत्यको कुरुक्षेत्रमा
अर्जुनको हार भैरहन्छ अचेल
तसर्थ बिदाईका लहरहरु उर्लिन्छन
अनि हरेक मोडहरुमा बिदाईका लागी
उभिएका योद्दाहरु भेटिन्छन
जस्का बिदाई देशका लागी
मातृभुमीको खातिर हुन्छन।

बिजे बिद्रोही राइ
भोजपुर हाल इज़रायल

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com