केन्द्रीय तथ्याङ्क विभागले चालु आर्थिक वर्षको असार मसान्तमा राष्ट्रिय जनगणना २०६८ को नतिजा 'लगत-२' सार्वजनिक गर्ने तयारी गरिहेको छ।
विभागले बसाइँसराइ, जायजन्म, पेसा व्यवसाय र १६ वर्षमुनिका बालबालिकाको आश्रयलगायतका शीर्षकमा जनगणनाको तालिका विश्लेषण गरी 'लगत-२' को नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो।
विभागका उपमहानिर्देशक विकास विष्टले तथ्याङ्कको विश्लेषणबाट आउने नतिजाका आधारमा विज्ञहरुद्वारा 'मोनोग्राफ' (लेख) तयार गरेर चालु आर्थिक वर्षको असार मसान्तमा नतिजा सार्वजनिक गर्ने बताएको हो।
यस लगतमा विभागले कुल घरधुरीको २० प्रतिशत (करिब सात लाख)को तथ्याङ्कलाई समावेश गरेको छ।
विभागले ५४ लाख घरधुरी समेटिएको लगत-१ को नतिजाका लागि राष्ट्रिय एवम् क्षेत्रीय स्तरमा कार्य पूरा गरिसकेको र अहिले जिल्लास्तरसम्मको नतिजा निकाल्ने प्रयास भइरहेको उपमहानिर्देशक विष्टले जानकारी दिए।
त्यस्तै राष्ट्रिय कृषिगणना २०६९ को तथ्याङ्क विश्लेषण कार्यलाई असार मसान्तमा सक्ने गरी जनशक्ति थप गरेर कार्य अघि बढाइएको विभागले जनाएको छ। रासस;