पुराना ती घाउ जति आलै भए अचेल भरि
पूर्णिमाका रात पनि कालै भए अचेल भरि
बल्झिएला कहिले भनी च्याँखे थापी कुर्नु पर्दा
जिन्दगानी जुवा तासका खालै भए अचेल भरि
प्रत्येक पला आँसु दिँदै दिन रातै पिल्साउने
मायाँ प्रीति अभिशाप र गालै भए अचेल भरि
अनगिन्ति प्रहारले हृदयलाई टुक्र्याएर
बाध्यता र विवसता त भालै भए अचेल भरि
उन्नति र प्रगतिका बाटाहरु बन्द गर्दै
समय र परिस्थिति ढालै भए अचेल भरि
भावनाका भेलहरु छचल्किंदै "कोमल" मन
समुन्द्रमा उर्लिएका छालै भए अचेल भरि
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका