प्रियतमालाई पत्र : कविता By, अनिरुद्ध गौतम

 

आज महाशिवरात्रि
आइतबार काठमाडौं फाल्गुण २७, २०६९

मेरी प्रियतमा,
म आज तिमीलाई
एउटा अनौठो पत्र लेख्दैछु ।
अनौठो किनभने,
यो पत्रद्वारा म तिमीलाई
आफ्नो नयाँ परिचय पनि दिँदैछु ।
म को हुँ वास्तवमा, के गर्न चाहन्छु....
यो पनि प्रस्ट्याउन चाहँदैछु ।

प्रिये, यो संसारमा म,
तिमी अनि सबै आआफ्ना
शरीरद्वारा यात्रारत छौं ।

यात्राको गन्तव्य थाहै नपाइ,
धेरैजसो मानिस हाँफजाँफ गर्दै ....
हिडिरहेका, दौडिरहेका छन् ।
सबैलाई सुख चाहिएको,
शान्ति चाहिएको छ ।
सुख केमा छ,
शान्ति केमा छ ?
धनले सुख ल्याउँछ,
शान्ति किन्छ भनेर दौडादौड छ ।
त्यसो भए, धनीहरु सुखी छन्,
शान्तिपूर्ण जीवन व्यतित गर्दैछन्, हो ?
यो सत्य होइन र असत्य पनि होइन...
एउटा परस्परविरोधी सोच हो ।
धन नभइ हुँदैन र भएर पनि सुख हुँदैन ।
अनि शान्ति हुँदैन ।

नपाइन्जेल धनमा सुख देखिन्छ,
पाएपछि त्यहाँ अरु दुख छ ।
लोभको दुख छ ।
जोगाउनुपर्ने, बढाउनुपर्ने चिन्ता छ ।
व्यापारीलाई कर कसरी छल्न पाइन्छ
भन्ने ध्याउन्न, कर्मचारीलाई -
तलबका अतिरिक्त पनि लाभको लोभ छ ।

हरेक व्यक्ति सक्दो जम्मा गर्दै
त्यसको सुरक्षातर्फ उन्मुख छ ।
मगन्तेहरुमा समेत यही चिन्ता छ ।
धन नपाएसम्म धनमा देखिने सुख, ...
पाएपछि तुरुन्तै क्लेशको कारण बन्छ ।
मगन्तेहरुमा माग्ने प्रतिस्पद्र्धा छ ।
नदिनेप्रति गाली र दिनेप्रति आदर छ।

मगन्तेमा मात्र होइन,
सर्वत्र यही प्रतिस्पद्र्धा छ ।
जसले बढी जम्मा गर्छ,
उप्रति ठूलो प्रशंसा छ ।
म यही भोग्दै छु ।
तिमी यस्तै र अर्बौं मानिसहरु
यही भौग्दै छन् ।
मलाई यो थाहा छ,
म नि भोग्दैछु ।
फगत यही नै थाहा छ,
यो भोगाइका अतिरिक्त पनि म भोग्दैछु ।
जहाँसम्म गन्तव्यको विषय छ ...
त्यो गन्तव्य भोगाइका पारी छ ।
हरेक किसिमका भोगाइका पारी छ गन्तव्य ।
यहाँ त केवल भोगाइ छ ।

यो भोगाइ,
सबैको एक्ला एक्लैको भोगाइ हो ।
 दुख सुख सबै आफ्नो मात्रै हो, र
आफ्नै कमाइको प्रतिफल हो ।
मलाई यत्तिमात्र थाहा छ ।

धन, मैले किन भनेको हुँ भने
यसलाई सबैले चिन्छन् ।
धन नभएका पतिलाई
पत्नीले छोडी दिन्छन् ।
धनी पतिलाई पनि
पत्नीले छोडेका छन् ।
धन नभएका पतिलाई
निर्धनताका कारण छोडेका हुन् ।
पतिले पनि पत्नी छोड्छन् । तर,
धन भएकालाई पनि छोडेका छन् ।
यसरी हेर्दा निर्धनतामा
धनको आवश्यकताले ,
सुख धनमा छ भनियो ।
तर धनमै सर्वथा सुख त रहेनछ ।
धनका अतिरिक्त,
सुख खोज्दो रहेछ मानिस ।

अतिरिक्त सुख हो के ?
कहाँ छ, कसले दिन्छ ?
म अहिले यसमा कुनै निर्णय दिन्न ।
मेरो अतिरिक्त सुख केमा छ,
त्यो भने मलाई थाहा छ ।
मेरो अतिरिक्त सुख
नेपाली जनको मुहारमा छ,
यदाकदा देखिने ती
सहज मुस्कानमा छ ।

यसैले मलाई प्रसन्नता दिन्छ ।
त्यो सहज मुस्कान
नेपाली जनको स्वाभाव बनोस्,
उनीहरुले अभावबाट मुक्ति पाउन् र ,
अभावबाट मुक्ति पाउनलाई
नेपाल सम्पन्न हुनुपर्छ,
समृद्ध हुनुपर्छ ।
त्यसैले नेपाल
समृद्ध बन्ने मार्गप्रशस्त,
 गर्नु मेरो कर्तव्य हो ।
अहिलेलाई मेरो गन्तव्य हो ।

महाशिवरात्री पर्वमा लाम लागेर
म पनि पशुपतिनाथ सम्मुख पुगें
र, अनायास, ‘हे नाथ मेरो देश
धर्तीको सर्वोत्तम स्थल हो,
तिम्रो नित्य निवास हो र ,
यो देशका जन जनको
कल्याण कसरी हुन्छ,
त्यही मार्ग प्रशस्त गर्न ...
त्यसैमा मेरो जीवन खर्च होस्,’
भन्न पुगें ।

मैले यसमा चर्चा शरीरद्वारा
यात्राको प्रसंगबाट गरेको थिएँ,
धनबारे आफ्नो मन्तव्य पनि दिएँ ।
किनभने, अहिले नेपाल
धनी नहुनुको कष्टबाट गुज्रिरहेको छ ।
त्यसैले पहिला त मुलुकलाई
धनीमा गनिने बनाउनु पर्यो ।
त्यसका लागि जनशक्तिलाई अवसर चाहियो ।
अवसरका लागि पद्धति बन्नुपर्यो,
पद्धति भएपछि बल्ल नीति बन्छ
र, नीतिको प्रमुख हो राजनीति ।

प्रखर नीतिज्ञहरु नभइ राजनीति सही हुँदैन, असल हुँदैन ।
राजनीति सही नभइ देश समृद्ध हुँदैन ।
प्रखर नीतिज्ञ बन्न र ,
उनीहरु प्रकटमा आउनलाई
लोकतन्त्रका जराहरु मजबूत र ,
देशैभरी फैलिएका हुनुपर्छ ।
फेरि, लोकतन्त्र भन्ने शब्द
उच्चस्वरमा बोल्दैमा अथवा ,
सुनौला अक्षरले किताबमा लेख्दैमा
त्यो लोकतन्त्र भइहाल्दैन ।
यो त लोक जीवनमा,
जन जनको जीवनमा
समरस हुनुपर्छ,
एकाकार हुनुपर्छ ।

यसो आफैं भइहाल्दैन ।
गर्नुपर्छ । डट्नुपर्छ । जुट्नुपर्छ ।
यसका लागि चाहिन्छ, आत्मशक्ति,
आत्मविश्वास र कष्ट सहने मनोबल ,
अनि यस्तो क्षमता भएका,
सुयोग्यता, निष्ठा भएका
व्यक्तित्वलाई साथ दिने व्यक्ति ।

साधारण मानिस धनमा सुख देख्छन् र
एकप्रकारको सुख त्यहाँ नभएको होइन ।
असाधारण मानिसले ती
साधारण मानिसलाई
उनीहरुले खोजेको सुख दिनुपर्छ,
उनीलाई अभावबाट
मुक्ति दिने मार्ग प्रशस्त गर्नुपर्छ
(आध्यात्मिक अभीष्ट त व्यक्ति आफू आफैंले सिद्ध गर्नुपर्छ ) ।

प्रिये, असाधारण मानिस
आफूमा आफैं आध्यात्मिक
रुपमा जागृत हुन्छ तर ,
अरुलाई दिँदा उसले पनि ,
भौतिक सुख साधन नै उपलब्ध गराउँछ
र गराउनुपर्छ ।

नेपालमा अहिले राजनीतिमा
नदेखिएको यही हो ।
राजनीतिमा प्रखर नीतिज्ञहरुको अभाव छ,
र त्यस्ता नीतिज्ञ रच्नुपरेको छ ।
लोकव्यवहारलाई उन्नत बनाउन
निर्लोभ नेतृत्व चाहिन्छ तर ,
लोकव्यवहार त्यतिबेला मात्र उन्नत हुन्छ,
जब प्रशस्त धन हुन्छ ।

प्रशस्त धन कसरी हुन्छ ?
त्यसका लागि मानिसमा
अन्तर्निहित ऊर्जाको
सर्वाधिक उपयोग गर्ने वातावरण
 र, अवसर सृष्टि गर्नुपर्छ ।
यसो गर्नलाई
शरीरमा बस्न आएको
शिवलाइ चिन्नुपर्छ र ,
शिव अर्थात् स्वयं शक्तिको
भण्डार लोकसंग्रहका लागि खर्चनुपर्छ ।

आज यति लेखें, फेरि लेख्दै गर्नेछु ।
तिमीलाई असीम माया गर्ने,
तिम्रो प्रियतम.......!

अनिरुद्ध गौतम
काठमाण्डौ , नेपाल !!


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com