पोखरा, चैत १०,
पत्रकारहरुबीच विवादका कारण स्थगित भएको नेपाल पत्रकार महासंघको बन्दसत्र पुनः सुरु भएको छ । कास्कीको पोखरा सभागृहमा बिहान ९ बजेदेखि सुरु बन्दसत्रमा प्रेस यूनियन र चौतारीमा आवद्व पत्रकारले नारावाजी गरेपछि बन्दसत्र स्थगित गुर्नपरेको थियो ।
महासचिव ओम शर्माको विधान संशोधन प्रस्ताव पेश भएलगत्तै कोषाध्यक्षको प्रतिवेदन पेश गर्न अध्यक्ष मण्डलले बनाएको कार्यतालिकामा रहे पनि प्रेस युनियन निकट पत्रकारहरुले महासचिवको प्रतिवेदन पारित भएपछि मात्रै कोषाध्यक्षको प्रतिवेदन पेश गर्नुपर्ने माग गरेको थियो ।
मागअनुसार अध्यक्ष मण्डलले कोषाध्यक्षलाई प्रतिवेदन पेश गर्न भनेपछि फेरि प्रेस चौतारी निकट पत्रकारहरुले कार्यतालिकाअनुसार नै जानुपर्ने भन्दै नाराबाजी गरेपछि बन्दसत्र स्थगित भएको थियो ।
विवाद मिलेपछि बन्दसत्रमा अहिले कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेश गरेका छन् ।
अहिले दुवै प्रतिवेदनमाथि छलफल जारी रहेको र छलफलपछि पारित गर्ने कार्यतालिका रहेको छ ।
‘संविधानसभाको निर्वाचनमार्फत् लोकतान्त्रिक संविधान, प्रेस स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकारको हितमा हाम्रो अभियान’ भन्ने नारा सहित शुक्रबारदेखि साधारणसभा शुरु भएको थियो ।
नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्था, श्रमजीवि पत्रकारहरुको अवस्था र सेवा सुविधाबारे छलफल गरि आगामी रणनीति तय गर्दै साधारणसभा आजै सकिने महासंघका महासचिव ओम शर्माले जानकारी दिए ।
साधारणसभामा महासंघले हालसम्म गरेको कामको समिक्षा गर्दै परिवर्तित राजनीतिक परिस्थितिमा महासंघको भुमिका र पत्रकारहरुको दायीत्वबारे पनि छलफल हुने शर्माले बताए ।साधारणसभामा करीब नौं सय पत्रकारहरु सहभागी छन् ।