पोखरा, फागुन २८,
शिक्षामन्त्री दीनानाथ शर्माले बालमन्दिर माध्यमिक विद्यालयमा घटेको घटनामा दोषी ठहरिएकालाई कारबाही गरेरै छाड्ने दृढता व्यक्त गरेका छन्।
एक हप्ताअघि कास्कीको लुम्ले गाविसमा सञ्चालित बालमन्दिर माध्यमिक विद्यालयका शिक्षक शिक्षिकाले दुर्व्यवहार गरेको भन्दै त्यहाँ पढ्ने विद्यार्थीहरु विस्थापित भएपछि आइतबार विद्यालयमा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा मन्त्री शर्माले बालबालिकको भविष्यमाथि कसैले पनि खेलवाड गर्न नपाइने धारणा राखे।
विद्यालयमा अराजकता पैदा गरेर व्यक्तिगत फाइदा उठाउने कसैको नियत छ भने त्यो दुर्भाग्य नै हो भन्दै मन्त्री शर्माले उच्चस्तरीय छानबिन समिति गठन गरी यथार्थ विवरण छिट्टै ल्याउने जानकारी दिए।
विद्यालयमा सञ्चालन भएको शैक्षिक साझेदारी कार्यक्रम फेरबदल नहुने बताउँदै मन्त्री शर्माले अभिभावकहरुले विद्यालयबाट विस्थापित विद्यार्थीहरुको वैकल्पिक व्यवस्था नहुने भएकाले यही विद्यालयमै विद्यार्थी फर्काउनसमेत अनुरोध गरे।
धनगढीका विद्यार्थीहरुलाई बुढानिलकण्ठ र बालमन्दिरका विद्यार्थीहरुलाई गण्डकी आवासीय विद्यालयमा लैजान सम्भव नभएको बताउँदै उनले अन्यथा अभिभावकले आफ्ना बालबालिकाको व्यवस्था आफैं गर्नुपर्ने विचार व्यक्त गरे।
विद्यालय व्यवस्थापन समितिका सदस्य चन्द्रबहादुर गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जिविसका पूर्व सभापति पुण्यप्रसाद पौडेल, समितिका अध्यक्ष खेम क्षेत्री, गोविन्दराज अधिकारीलगायतले विद्यालयबाट शैक्षिक साझेदारी कार्यक्रम रद्द गर्न नहुनेमा जोड दिएका थिए।
गत फागुन २१ गते शिक्षक तथा शिक्षिकाबाट दुर्व्यवहार गरिएको भन्दै छात्रवृत्तिमा अध्ययनरत २२ जिल्लाका ६८ जना विद्यार्थीहरुले विद्यालय छोडेका थिए। रासस;