एकल महिला, इच्छा र समाज

काठमान्डू फागुन २५,

विज्ञान प्रविधिको युगमा पनि विधवा नारीले रातो वस्त्र लाउनु हुँदैन, चुरा, पोते, सिन्दूर लोग्ने हुन्जेलमात्र लाउने हो भन्ने संस्कारले महिला प्रताडित छन् ।

  झमक घिमिरे : यतिबेला मलाई विश्वेश्वरप्रसाद कोइरालाको उपन्यास नरेन्द्र दाइकी नारी पात्र गौरीको याद आइरहेको छ । लोग्ने नरेन्द्रको मृत्युपछि पनि उसले सधुवा पहिरन रातो चोलो, साडी, पेटीकोट, पोते, चुरा, धागो, सिन्दूर सबै थोक लाएकी छे । 

त्यसो गर्दा उसलाई समाज, संस्कृति र संस्कारले पागल भनेको छ, उसको त्यो समयको विद्रोहलाई पागलपन ठानेको थियो । तर गौरीको त्यही पागलपन यो पंक्तिकारलाई मनपरेको छ । किनभने त्यो नारी इच्छाको स्वतन्त्रता हो । जसलाई उसले निरपेक्ष ढंगले भोगेकी छ । अहिलेको आधुनिक भनिएको विज्ञान प्रविधिको युगमा पनि विधुवा नारीले रातो वस्त्र लाउनु हुँदैन, चुरा, पोते, सिन्दूर लोग्ने हुन्जेलमात्र लाउने संस्कारले कैयौं महिला दिदी-बहिनीहरू प्रताडित छन् । 

केही महिलाले भने संस्कारगत तगारो तोडेर पहिरन रातो अर्थात् आफूलाई इच्छा लागेका लुगा लाएका छन् । उनीहरूले आफूलाई मनलागेका कुरा स्वतन्त्र रूपले गरेका छन् । विश्वेश्वरप्रसाद कोइरालाका अधिकांश उपन्यासका नारी पात्रहरूको जीवनवृत्तलाई केलाउँदा उनीहरू आफ्ना मनोगत इच्छा, आकांक्षाहरूलाई स्वतन्त्र रूपले भोगेर आएका छन् । उनीहरूको यौनाकांक्षा कतै कुण्ठित भएर जमेको छैन । उनीहरूको यौन मनोविज्ञानको कुरा साँच्चै मज्जाले उठाएका छन्, लेखकले । 

जिन्दगीको त्यो रात, भरिलो पक्षलाई कलात्मक रूपले खोतलेका छन् । उनको नरेन्द्र दाइ भित्रकी गौरीले जीवनको प्रथम चरणमा उसको शारीरिक रूप पूर्ण विकसित नभएकोले नरेन्द्रलाई पूर्णरूपले यौन सन्तुष्टि दिन नसकेकीले गौरी लोग्नेमानिसबाट अपहेलित छे । यहाँनेर नेपाली समाज, संस्कार र संस्कृतिलाई यो पंक्तिकारको प्रश्न छ- पुरुषले स्त्रीबाट पूर्णरूपले शारीरिक यौन सन्तुष्टि पाएन भने उसले आफ्नी पत्नीलाई त्याग्दा पनि हुने तर त्यही ठाउँमा स्त्रीले पुरुषबाट चाहे, सोचेजस्तो शारीरिक रूपमा र मानसिक रूपमा सन्तुष्टि पाउन सकिन भने उसले अर्काे विवाह गर्न पाउने कि नपाउने ? 

हो, यौन सन्तुष्टि पुरुषलाई मात्र भए त्यही पुरुषसँग स्त्रीले सारा जिन्दगी समर्पण गरेर बिताउनुपर्ने महिलालाई चाहिं त्यो नचाहिने ? कुरा विधवा महिलाले रातो वस्त्र विभिन्न आभूषण लाउन पाउनेमात्र कुरासँग सम्बन्धित होइन, उनीहरूको यौन जीवनलाई पनि वा उनीहरूको यौनिकतालाई पनि यहाँ अलिकति उठाउन खोजिएको हो । अलिकति उनीहरूको यौन मनोविज्ञानलाई उप्काउन खोजिएको छ । वृद्ध बनेका महिलाहरूको यौन मनोविज्ञानको भिन्नै रूपमा रहेको कुरो हो । 

तर एकल आधाबैंसे र बैंस नगएका महिलाहरूको यौनिकताको सवाललाई हालसम्म नेपाली समाजमा कसैले पनि उठाउने चेष्टा गरेको छैन । उठाउने कोसिस गरे पनि उसलाई सुनिँदैन, पढिँदैन । त्यो आवाजलाई दमन गरिन्छ र त्यो सवाललाई कसैले सम्बोधन गर्ने त परै जाओस् । नेपाली समाजले अहिलेसम्म स्वीकार्न नसकेको कटु सत्य के हो भने यौनको सन्दर्भमा नेपाली समाज खुलेर अगाडि आउनसकेको छैन । 

विवाह नगरेका किशोरीको यौनको सन्दर्भमा नेपाली समाज अझै खुलेर बहस गर्न लजाउँछ । शर्माउँछ । तर यौनिकता, यौन भनेको यो ब्रह्माण्डमा जीवनको उत्पत्ति भएदेखि चलिरहेको एउटा प्राकृतिक प्रक्रिया हो । यही प्राकृतिक सामान्य प्रक्रियाबारे छलफल, बहस गर्न नेपाली मानसिकता अझै पूर्णरूपले तयार छैन भने यो समाज कति पिछडिएको अवस्थामा छ भन्ने सहजै अनुमान गर्न सकिन्छ । 

नेपाल समाज भर्खरका किशोरावस्थाका महिलाहरूको बीचमा यौनिकताको विषयमा त खुलेर कुरा गर्न सक्दैन भने झन् विधवा अर्थात् एकल महिलाको यौनिकताको विषयमा सोच्न त परै जाओस् । श्रीमानको मृत्युपछि परपुरुषसँग यौन सम्पर्क राख्ने र यौनानन्द लिने कुरा त परै राखौं, उनीहरूलाई कुनै पुरुष आकर्षक लागेर हेरे भने पनि पाप लाग्छ भनेर रोकिन्छ, उनीहरूले जीवनमा कुनै खुसी भोग्नु अपराध ठानिन्छ र मृत श्रीमानका नाममा बिताउनुपर्छ । उसकै यादमा तड्पेर जिन्दगी बिताउनु बहुत ठूलो पुण्यकर्म ठानिन्छ । 

तर यो अहिलेको समयले मानिरहेको छैन । अहिलेको युगले स्वीकारिरहेको छैन । किनभने एकल महिलासँग पनि मानवीय भावना, चाहना के श्रीमान मर्दैमा मरिहाल्छ र ? उनीहरूका सारा इच्छा-आकांक्षाहरू श्रीमानको मृत्यु हुँदैमा त्यहीसँगै मृत्यु हुनुपर्ने ? यो प्रश्न नेपाली समाजका जो सचेत, सुसंस्कृत भनिएका अबुझहरूलाई ? अनि त्यस्ता महिलाहरूको इच्छा-आकांक्षाहरूको सम्मान गर्दै आफ्नो दरिलो हात र साथ दिने सबै पुरुष जातिलाई साधुवाद ।(स्रोत-इकान्तिपुर)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com